स्वास्थ्य

खोप अभियान सुरु भएको एकवर्षः डेढ करोडले बढी पाए पहिलो मात्रा

४ करोड बढी खोप भित्रियो

इकागज |
माघ १४, २०७८ शुक्रबार ११:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा कोभिडविरुद्धको खोप अभियान सुरु भएको शुक्रबार (आज) एक वर्ष पुगेको छ । सरकारले गत वर्षको माघ १४ गतेदेखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु गरेको थियो । भारतले अनुदानस्वरुप १० लाख कोभिशिल्ड खोप दिएको थियो । नेपालमा खोप ल्याइएको एक सातापछि लगाइएको थियो ।

पहिलो र दोस्रो मात्रा गरी कुल ३ करोड ४ लाख ७५ हजार ५८९ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप अभियान सुरु भएदेखि एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले पहिलो मात्रा र पूर्ण खोप लगाउनेको संख्या १ करोड ३७ लाख ३४ हजार तीन सय ९० छ ।


अतिरिक्त डोज अर्थात बुस्टर मात्रा लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार सात सय २४ छ  । कुल जनसङ्ख्यामा पहिलो मात्रा लगाउने ५४ दशमलव २ र पूर्ण मात्रा लगाउने ४५ दशमलव २ प्रतिशत रहेका छन् । लक्षित जनसङ्ख्यामा १८ वर्ष वा त्योभन्दा माथि पहिलो मात्रा लगाउने ८२ दशमलव ६ र पूर्ण मात्रा लगाउने ६८ दशमलव ९ प्रतिशतले लगाएका छन् ।

नेपालले विभिन्‍न मुलुकबाट अनुदानबाट कोभिडविरूद्धको खोप प्राप्‍त गरिसकेको छ । कोभ्याक्स अन्तर्गत र खरिद गरेर ४ करोड २० लाख ४९ हजार ६४० मात्रा खोप पाएको छ । अहिलेसम्म चीनबाट १ करोड भेरोसेल र भारतबाट २० लाख डोज खरिद गरेर खोप प्राप्त भएको छ  ।

चीनबाट भेरोसेल, भारतले कोभिशिल्ड,अन्य मुलुकले एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनलगायतका खोप कोभ्याक्सअन्तर्गत अनुदानमा प्राप्‍त गरिसकेको छ ।

चीनले हालसम्म सबैभन्दा बढी खोप अनुदानमा उपलब्ध गराइसकेको छ । खरिद गरेर पनि चीनले बढी खोप नेपाललाई निर्यात गरिसकेको छ । चीन,अमेरिका, भुटान, बेलायत, माल्दिभ्स, जापान लगायतका मुलुकबाट खोप आयात भइसकेका छन् ।

त्यसैगरी अमेरिका, बेलायत,फ्रान्स, जापान, माल्दिभ्स, जर्मन, क्यानडा, भुटान, स्वीटजरल्याण्ड, चीन र भारत लगायतका मुलुकबाट खोप आयात भएको थियो । केही मुलुकले सम्बन्धको आधारमा कोभ्याक्स कार्यक्रम मार्फत खोप उपलब्ध गराएका छन् ।

 

 


Author

थप समाचार
x