स्वास्थ्य

मधेश प्रदेशमा ११ हजारले लगाए बुस्टर डोज

सुभाष कर्ण |
माघ १०, २०७८ सोमबार १६:५० बजे

जनकपुरधाम -  मधेश प्रदेशमा जनसख्याको आधारमा करिब ४४ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । त्यस्तै लक्षित मध्ये ११ हजार जनाले कोभिड  बुस्टर डोज लगाएका छन् ।

आइतबारसम्ममा मधेश प्रदेशमा लक्षित वर्गका ०.२६४ प्रतिशले गरी १० हजार ९ सय ९८ जनाले बुस्टर डोज र ४४.८ प्रतिशतले पुर्ण खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।


निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बारामा सबैभन्दा बढी ३ हजार २ सय २० जना, सर्लाहीमा २ हजार २६, धनुषामा १ हजार ९ सय ६०, रौतहटमा १ हजार ८ सय २३, सिरहामा १ हजार ८७, महोत्तरीमा ४ सय १६, सप्तरीमा ३ सय २१ र पर्सामा १ सय जनाले बुस्टर डोज लगाएका छन् ।

त्यस्तै पूर्ण खोपतर्फ सबभन्दा बढी सर्लाहीमा ६५ प्रतिशतले लगाएका छन भने बारामा ५८, धनुषामा ५७.५, सप्तरीमा ५०.१, पर्सामा ५१.४, सिरहामा ४७.२, महोत्तरीमा ४१.५ र सबभन्दा कम रौतहटमा ४०.७ प्रतिशतले लगाएका छन् ।

पुस मसान्त भित्रै कुल जनसंख्याको ७७ प्रतिशतलाई आधार मानी १२ वर्षभन्दा माथिको ४८ लाख ७५ हजार ७ सय ६७ जनालाई पूर्ण खोप लगाउने लक्ष्य सरकारको  थियो । तर माघको पहिलो सातासम्म २१ लाख ५६ हजार ९ सय ६४ जनाले मात्रै पूर्ण खोप पाए । खोप कार्यक्रम सुस्त गतिमा भएको निर्देशनालयका निर्देशक विजय झाले बताए ।

झाका अनुसार १२ वर्षदेखि माथिका उमेरका ४४.२ प्रतिशत नागरिकले कोभिडविरुद्धको भ्याक्सिन लगाएका छन् भने १८ वर्षमाथिको ५१.८ र १२ वर्षदेखि १७ वर्षसम्मका ६ जनाले मात्रै  पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा पहिलो डोज भने ५१.५ प्रतिशतले लगाएका छन् भने पुर्ण खोपतर्फ सर्लाहीमा ५५.५, बारामा ४९.४, धनुषामा ४९.१, पर्सामा ४३.८, सप्तरीमा ४२.७ प्रतिशत, सिरहामा ४०.७, महोत्तरीमा ३५.४ र रौतहटमा ३४.७ प्रतिशत लक्षित नागरिकले लगाएका छन् ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x