स्वास्थ्य

'ओमिक्रोन समुदायमा फैलिसक्‍यो हेलचक्य्राइँ नगरौँ'

अतिन आचार्य |
पुस २४, २०७८ शनिबार ९:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा कोभिड-१९ संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । शुक्रबार मात्र देशभर ९६८ संक्रमित थपिए । १४ हजार ९७१ जनाको कोभिड परीक्षण गर्दा करिब हजार जनामा संक्रमण देखिएको हो । एक सातामा देशभर तीन हजार ४९५ संक्रमित थपिएका छन् । यसले पनि संक्रमणको ग्राफ बढ्दै गरेको देखाउँछ । जबकि अघिल्लो सातासम्म यो संख्या १५ सय आसपास हुन्थ्यो ।

भारतमा संक्रमणदर व्यापकरूपमा बढिरहेको छ । त्यसको प्रभाव नेपालमा पनि परेको हो । पहिलो र दोस्रो लहरमा पनि भारत र युरोपमा संक्रमण वृद्धि भएपछि नेपालमा दोस्रो लहर फैलिएको थियो । खुला सीमाका कारण दुई मुलुकबाट मानिसहरूको सहजै आवतजावत हुनुले पनि संक्रमणदर तीव्ररूपमा फैलदैँ गएको हो ।


सरकारले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेपछि अस्पताललाई अक्सिजन जस्ता अति आवश्यक स्वास्थ्य सामग्री तयारी गरेर राख्‍न निर्देशन दिइसकेको छ । संक्रमण घट्नुभन्दा अझ बढ्ने जोखिम रहेको छ । कोभिडको नयाँ भेरियन्ट विकास हुनुले थप जोखिम बढेको हो।

हालसम्म ओमिक्रोनको गम्भीर लक्षण नदेखिए पनि तीव्ररूपमा फैलन थालिसकेको छ । समुदायस्तरमा संक्रमण फैलिइसकेको र जनस्वास्थ्यको मापदण्ड नअपनाएमा ओमिक्रोन तीव्ररूपमा फैलन सक्ने विज्ञहरूले चेतावनी दिन थालेका छन् ।

'स्वास्थ्यकर्मीलाई बुष्‍टर डोज उपलब्ध गराऔँ'

संक्रमण दर वृद्धि हुने हो भने नेपालमा कोभिडको तेस्रो लहर आउने महामारी विज्ञ डा. अर्चना श्रेष्‍ठले बताइन् । 'कोभिडको पहिलो, दोस्रो लहर सुरुमा युरोप र भारतमा देखिएको थियो, त्यसपछि मात्र नेपालमा देखियो ,' उनले भनिन्,' तेस्रो लहर पनि युरोपको कतिपय मुलुकमा देखिइसकेको छ । भारतमा पनि बढिसकेकाले कोभिडको तेस्रो लहर नेपालमा देखिने सम्भावना बढिसकेको छ ।'

संक्रमणदर फैलने क्रम बढ्दै गएकाले कोभिडको तेस्रो लहर निश्चित आउने श्रेष्‍ठले बताइन् । संक्रमितलाई उपचार गर्न आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्‍नुपर्ने उनको भनाइ छ । 

दोस्रो लहरमा कोभिडविरुद्धको खोप पाएका स्वास्थ्यकर्मीलाई पुनः तेस्रो डोज लगाइदिनुपर्ने उनले बताइन् । स्वास्थ्यकर्मीलाई सुरक्षित राख्‍न सकेमा मात्र संक्रमितको उपचार गर्न सहज हुने श्रेष्‍ठले बताइन् ।' अहिलेसम्म खोप नपाएका बालबालिकालाई खोप लगाउनु पर्छ, 'उनले भनिन्, 'अस्पतालमा भर्ना हुने संक्रमित खोप नलगाएका र मृत्यु हुने पनि तिनै खोप नलगएकाहरू छन् ।'

अक्सिजन बचत गरेर अस्पतालमा आपूर्ति व्यवस्थापनमा ध्यान दिनलाई उनले सुझाव दिइन् । औद्योगिक क्षेत्रलाई अक्सिजनको उत्पादन मात्रा बढाएर भण्डार गेरर राख्‍नुपर्ने उनको भनाइ छ ।

खुला सीमा नाकालाई व्यवस्थित प्रवेश गर्नेहरूको नाकामा परीक्षण हुनुपर्ने उनले बताइन् । बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा राख्‍नुपर्ने र बढी भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । 

नाका-नाकामा एन्टीजेन्ट परीक्षण 

ओमिक्रोन फैलन नदिन सीमा नाकामा कोभिड परीक्षणलाई थप प्रभावकारी बनाइएको र पोजेटिभ भएकालाई ओइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् । 'नाकाहरूमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको छ । हवाइ नाकाहरूमा पनि शंकास्पद मानिसहरूको व्यवस्थापन गरिरहेका छौं,' मिश्राले भनिन्,' विमानस्थलमा एन्टीजेन्ट परीक्षणको व्यवस्था गरिएको छ ।'

संक्रमण बढेसँगै स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न निर्देशन दिएको उनले जानकारी दिइन् । नेपाली सेनाले बनाइरहेको होल्डिङ सेन्टरलाई चलायमान गर्न खोप अभियानलाई तीव्रता दिएको उनले बताइन् । अक्सिजनको व्यवस्थापन र अस्पताललाई उपचारको लागि तयार रहन पनि निर्देशन दिएको उनले बताइन् ।

'समुदायमा गयो, परीक्षण दायरा बढाऔँ'

इपिडिमियोलोजिष्ट डा. विराज कर्माचार्य ओमिक्रोन देखापरेसँगै कोभिडको तेस्रो लहर सुरु भएको बताए । संक्रमणदर बढेसँगै खोप अभियानलाई तीव्रता दिन उनले आग्रह गरे । 'खोप कम लगाइएको ठाउँमा मात्रा बढाउनुपर्छ,' उनले भने,' परीक्षणको दायरा बढाउनुपर्छ ।'

फ्रन्टलाइनरको रूपमा काम गर्नेहरूलाई खोपको तेस्रो मात्रा दिनुपर्ने कर्माचार्यको भनाइ छ । ज्येष्‍ठ नागरिक र स्वास्थ्यकर्मीलाई खोप लगाउनलाई उनले माग गरे । खोप नपाएका समूहलाई पहिलो प्राथमकितामा राखी खोप दिनुपर्छ । हालसम्म लक्षित जनसंख्याको ५५ दशमलव २ प्रतिशतले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

मत्थर हुँदै गएको संक्रमणदर फैलनुमा सरकार बढी जिम्‍मेवार रहेको उनले बताए । विदेशबाट आएकालाई क्वारेन्टाइन बसाइमा कडाइ नगरेको उनको भनाइ छ । अनुगमन गर्ने संयन्त्र शिथिल हुँदा संक्रमण फैलिएको हुन सक्‍ने उनको दाबी छ । उनले हेलचक्याइ नगर्न सुझाव दिए

बढी भीडभाड हुने कार्यक्रमलाई निरुत्साहन गर्नलाई कर्माचार्यले सुझाव दिए । सभा, सम्मेलन र २५ जना भन्दा कम हुने क्षेत्रमा कार्यक्रम आयोजना गर्नुपर्ने उनले बताए । ओमिक्रोन समुदायस्तरमा फैलिइसकेको उनले आशंका गरे ।

पहिलो र दोस्रो लहर जस्तो स्वास्थ्य प्रणालीमा समस्या नहुने पनि उनले बताए । धेरै अस्पतालले अक्सिजन प्लान्ट र बेडको सख्या थपिसकेको उनले बताए । कोभिड नियन्त्रणमा स्थानीय तह र केन्द्र सरकारबीच समन्वय हुनुपर्ने उनको माग छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x