स्वास्थ्य

सन् २०२१ मा स्वास्थ्य : सुरुमा निरासा, अन्तिममा आसा, अक्सिजन खोसाखोसदेखि सडकमै खोपसम्‍म

एकै वर्षमा करिब ४ करोड खोप भित्रियो

अतिन आचार्य |
पुस १५, २०७८ बिहीबार १२:२२ बजे

काठमाडौँ - अंग्रेजी वर्ष सन २०२१ बिदा हुँदैछ । २०२१ ले मानव जगत र संसारलाई धेरै कुरा दियो । जति दियो त्योभन्‍दा धेरै गुमायो पनि । २०२१ ले मानव जगतलाई काबुमा राख्‍नेदेखि फुक्काफालसम्म बनायो ।

केही समय मानिसहरू निर्धक्क बाहिर निस्के पनि बिस्तारै कोभिड महामारीले आफ्नै निवासमा प्रतिबन्धित भए । यसले चिकित्सा विज्ञानलाई मात्र प्रभाव पारेन  स्वास्थ्य क्षेत्रमै संकट पैदा गर्‍यो । संसारले व्यहोरेको सास्तीबाट नेपाल अछुतो रहने कुरै भएन । नेपालका सबै अस्पताल संक्रमितले भरिभराउ बने । उपचारका लागि बेड भएन । प्रत्येक दिन नेपालमा सयौँले र विदेशमा भने लाखौले ज्यान गुमाए ।


जसले मुलुकलाई स्वास्थ्य क्षेत्रको जटिल मोडतर्फ लग्यो । संक्रमितको उपचार र शव अन्त्येष्‍टि गर्न घण्टौ लाइन बस्नुपर्ने बाध्यता बन्यो । पशुपतिको विद्युतीय शव दाह गृहमा शव अन्त्येष्‍टिका लागि ठाउँ नपुगेर बाहिर जलाइयो ।

सन् २०२१ को सुरुवातीमा मुलुकलाई कोभिडले हायलकायल बनाएको थियो । देश, प्रदेश र जिल्ला सबै क्षेत्रलाई बन्दाबन्दीले घेर्‍यो । बजार र घरका ढोकाहरूसमेत बन्द भए । भोका पेटहरू दुई छाक खानाका लागि सडकमा आए ।

दुई वर्षदेखि विश्‍वलाई महामारीले त्रासमा राख्‍यो । सँगसँगै त्यसलाई नियन्त्रणमा राख्‍न मानवीय प्रयाससमेत भयो । यद्यपि अहिले कोभिड नियन्त्रणमा लिने प्रयास भइरहेको छ । तर, सफल भइसकेको छैन ।

सन् २०२० को अन्त्यमा पहिलो लहरको कोभिड संक्रमण समाप्‍तितर्फ बन्दै गयो । संक्रमण र मृत्युदर पनि दुवै घट्दै गयो । कोभिड संक्रमणले सोही वर्ष मात्र १ हजार ८ सय ५६ जना मानिसले ज्यान गुमाए ।

अक्सिजन र मास्कमा कालोबजारी 

नेपाललाई सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो लहरले गाज्दै लगेको थियो । पहिलो लहरमा भने ज्येष्‍ठ नागरिकहरू प्रभावित बने । दोस्रोमा भने सबै उमेर समूहका मानिस प्रभावित बनाएको थियो । युवायुवती देखि बालबालिका सबैलाई प्रभाव पार्‍यो । मृत्युदर पनि बढ्दै गएको थियो ।

संक्रमितले अस्पतालमा बेड पाएनन्, परिसरमा बसेर उपचार गर्नुपर्ने बाध्यता बन्यो । अक्सिजनको अभाव भयो । अक्सिजन र मास्कमासमेत कालोबजारी भयो । पहुँचवालाले मात्र अस्पतालमा बेड र अक्सिजन पाउथे ।

मुलुकमा उत्पादित अक्सिजनले नपुगेर विभिन्‍न मुलुकबाट अक्सिजन आयात गरिएको थियो । विभिन्‍न व्यापारी घरानाका मानिसहरू समेत कालाबजारी गरेको अभियोगमा पक्राउ परे ।

गाँस कटाएर खाँडीबाट सिलिण्डर पठाए

खाँडी मुलुकमा रहेका नेपालीले गाँस कटाएर अक्सिजनका सिलिण्डर पठाए । स्वास्थ्य सामग्रीहरू युरोपेली तथा एशियन मुलुकुले सहयोग गरे । संकटमा मास्क, अक्सिजन कन्सर्नट्रेटरलगायतका अन्य थुप्रै स्वास्थ्य सामग्रीहरू पठाए । सीमाभन्दा पर रहेका मुलुकले मानवीयता देखाए ।

नेपालमा संक्रमितले ज्यान गुमाउँदै गर्दा भारतले भने कोभिडविरुद्धको खोप निर्माण गर्दै थियो । भारतले आफ्ना नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन थालेपछि केही मुलुकलाई अनुदानस्वरुप खोप वितरण पनि गर्‍यो ।

भारतबाट अनुदानमा खोप पाएपछि सरकारले खोप खरिद गरे पनि विचौलियाकै कारणले बाँकी खोप ल्याउन समय लागेको थियो । सरकार र विचौलियाको मिलेमत्तो र कमिसनको प्रलोभनकै कारण भारतबाट खोप समयमा भित्रिएन । खरिद गरेको खोप आठ महिनापछि मात्र आयात भयो ।

समयमै खोप भित्रिएको मृत्युदर कम हुने थियो । खोप अभियान सुरु भएपछि मुलुकमा यो समाचार तयार पार्दासम्म सन् २०२१ सम्ममा ९ हजार ७ सय २६ जनाको मृत्यु भएको छ । मृत्युदर बढेसँगै कोभिडले मानव जीवनदेखि अन्य सबै क्षेत्रलाई प्रभावित बनाएको छ । ५ लाख ५८ हजार ४ सय ११ जनाले कोभिडलाई विजय प्राप्‍त गरेका थिए ।

अबको केही घण्टापछि यो वर्षले आफ्नो साल परिवर्तन गर्दैछ । हरेक वर्ष पात्रो मात्र फेरिदैन सँगसँगै आशा पनि ल्याउँछ । यस वर्ष मुलुकमा आशा गर्ने ठाउँ पनि पर्याप्‍त बन्यो ।

स्वास्थ्य क्षेत्रमा वार्षिक बजेट वृद्धि

अधिकांश अस्पतालले अक्सिजन प्लान्ट बनाए । कोभिडकै कारण उपचार केन्द्र थपिए। स्वास्थ्य क्षेत्रमा वार्षिकरूपमा बजेटको वृद्धि भयो । अधिकांश अस्पतालमा स्वास्थ्य प्रयोगशाला निर्माण गरे । खोप भित्र्याएर र दैनिक दुई सय संक्रमितको मृत्यु घटेर २ जनामा झरिसकेको छ ।

माघको पहिलो साता भारतबाट अनुदानस्वरुप १० लाख कोभिडविरुद्धको खोप भित्रियो । पहिलो चरणमा फ्रन्टलाइनरको रूपमा कार्यरत स्वास्थ्यकर्मीले खोप लगाए । बिस्तारै ज्येष्‍ठ नागरिकदेखि अन्य मानिसले कोभिडविरुद्धको खोप पाएका थिए । अहिले भने बालबालिकादेखि, वैदेशिक रोजगारीमा जाने र अन्य उमेर समूहकाले खोप पाउन थालिससकेका छन् । भीडभाड हुने सार्वजनिक स्थान, विद्यालय र अस्पतालबाट नियमित रुपमा खोप पाइरहेका छन् ।

एकै वर्षमा करिब ४ करोड खोप भित्रियो

सन् २०२१ को सुरुवातीदेखि अन्त्य सम्ममा विभिन्‍न दश मुलुकबाट गरी ३ करोड ७० लाख ७ हजार २ सय ७७ खोप भित्रिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डार महाशाखाका अनुसार हालसम्म १ करोड २० लाख डोज खोप खरिद गरिएको छ । अहिलेसम्म चीनबाट १ करोड भेरोसेल र भारतबाट २० लाख डोज खोप खरिद भयो ।

अमेरिका, बेलायत, जापान, माल्दिभ्स, जर्मन, क्यानडा, भुटान, स्वीटजरल्याण्ड, चीन र भारत लगायतका मुलुकबाट खोप आयात भएको थियो । केही मुलुकले सम्बन्धको आधारमा कोभ्याक्स कार्यक्रम मार्फत खोप उपलब्ध गराएका थिए ।

कठिन हुँदै सहजतातर्फ गएर उपलब्धीमूलक बन्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्र महामारीमा स्वास्थ्य क्षेत्रमा भएको विकाससलाई उपलब्धीमूलक रहेको मान्छिन् । कोभिडको दोस्रो लहरको सुरुवातीमा संक्रमितले अस्पतालमा बेड र अक्सिजन पाउन कठिन भए पनि त्यसलाई बिस्तारै व्यवस्थापन गरिएको उनी बताउँछिन् ।

'स्वास्थ्यकर्मीहरू कोभिडको त्रासमा रहेर पनि संक्रमितको उपचार निरन्तर खटिरहे । मानवीय संवेदनाका रूपमा त्यसलाई उनीहरूले बुझे । धेरै स्वास्थ्यकर्मीले ज्यान पनि गुमाए, 'उनले भनिन्,' कर्तव्य सम्झेर पनि आफ्नो काममा लागिरहे । जसको कारण धेरै संक्रमितहरू संक्रमणमुक्त पनि भए ।'

उनकाअनुसार अस्पतालले बेड क्षमता वृद्धि गरे । अक्सिजन प्लान्ट बने । स्वास्थ्य संरचना निर्माण भए । कोभिडकै कारण स्वास्थ्य क्षेत्रमा कमी भएका कुरालाई औल्याएको छ ।

महामारीमा सरकारी अस्पतालले काम गरेर देखाएको डा. मिश्राले बताइन् । 'सरकारी अस्पतालले सेवा दिन नसक्ने भन्नेलाई यसपटक देखाइदिएको छ,' उनी सुनाउँछिन्,' महामारीमा अपराधी जस्तो व्यवहार गरिएको थियो । तर, अहिले सोचाइमा परिवर्तन आइसकेको छ ।'

कोभिड नियन्त्रण गर्न मुख्य कुरा खोप उपलब्ध हुनुपर्छ । खोप अभियान सुरु भएपछि मृत्युदरमा पनि कमी भयो । भौतिक संरचना निर्माण गरिनुपर्छ ।

‌सरकारले ओमिक्रोन नियन्त्रण गर्न सरकारको तर्फबाट पूर्व तयारी गरिसकेको छ । नाका-नाकामा स्वास्थ्य परीक्षण गर्न थालिएको छ । अस्पतालमा बिरामीको उपचार गर्न मन्त्रालय तयारी छ । उनले जनस्वास्थ्यका मापदण्ड पालना गराउन अन्य मन्त्रालयले सहयोग गर्नुपर्ने बताइन् ।

अस्पताल पुगेका संक्रमितलाई बाहिर राखी उपचार 

कोभिडको दोस्रो वेभ रहेको वर्ष सुखद र दुखःद दुवै पक्ष रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् । मृत्युदर कम गरेर धेरै भन्दा धेरै मानिसलाई बचाउँन पनि सफल भएको उनको भनाइ छ ।

'अस्पतालमा संक्रमितले बेड पाउन गाह्रो र अक्सिज खोसाखोससमेत भएको थियो,' उनले भने,' समयले सिर्जना गरेका त्यस्तै अवस्था थियो । बेड पाउनका लागि अस्पताल परिसरमा बस्नुपर्ने थियो । अस्पताल पुगेका संक्रमितलाई सकेसम्म बेड पुर्‍याए ।'

बढिरहेको मृत्युदर पनि घट्यो । धेरै अस्पतालले आफ्नो क्षमताको वृद्धि गरिसकेको । बेड र अक्सिजनको उपलब्धतालाई ध्यानमा राखेर काम बढाएको छ ।  खोप पाउनलाई गाह्रो भइरहँदा पछिल्लो समय उपलब्धताको मात्रा बढ्दै गएको छ । झन्डै ५० प्रतिशत मानिसले खोपको दोस्रो मात्रा पाइसकेका छन् ।

सरकारले उपलब्ध भएका खोपलाई सहजै व्यवस्थापन गर्न नसकिरहेको उनले बताए । आवश्यकताका आधारमा र खोपको पहिलो मात्रा नपाएकालाई खोप लगाइदिनलाई उनले सुझाए ।

राजभण्डारीले अहिले देखिएको ओमिक्रोन भाइरसलाई फैलन नदिन भीडभाड हुने क्षेत्रलाई तुरुन्त बन्द गर्नुपर्ने बताए । ओमिक्रोनको बढी असर नेदेखिए पनि छिटो फैलिरहेको उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x