स्वास्थ्य

उपत्यकाकै मुख्य सरकारी अस्पतालमा शिशु सघन उपचार कक्ष छैनन्

भेन्टीलेटर भए पनि पर्याप्‍त जनशक्ति नहुँदा उपचारमा समस्या

अतिन आचार्य |
असोज ५, २०७८ मगलवार २२:४३ बजे

काठमाडौँ- उपत्यकाका मुख्य-मुख्य सरकारी अस्पतालमै नवजात शिशुको उपचार गर्न पर्याप्‍त मात्रामा सघन उपचार कक्ष छैनन् । बाहिरी जिल्लाबाट उपचार गर्न आएकाले सघन कक्षमा उपचार गर्न नपाउने अवस्था छ । उपत्यका भित्रकै अस्पतालबाट रिफर भइ आउनेले समेत समयमा उपचार गर्न सघन कक्ष नपाउने समस्या रहेको पाइएको छ ।

उपत्यका बाहिरबाट मुख्य गरी अभिभावकहरू नवजात शिशुहरूलाई लिएर त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह थापाथली र पाटन विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा उपचार गर्न जान्‍छन्। भर्खरै जन्मेका शिशुदेखि तीन महिनादेखि छ महिनासम्मका बच्चालाई उपचार गर्न आए पनि अस्पतालमा सघन कक्ष पाउन नसकिने समस्या छ ।


आमाको कोखबाट जन्मदै गम्भीर अवस्थाको बिरामी भएमा शिशुले तत्कालै उपचार पाउने अवस्था छैन । कतिपय अस्पतालमा उपचार कक्ष भए पनि जनशक्ति छैनन् । जनशक्ति भए पनि स्वास्थ्य सामग्री नरहेको पाइएको छ । अस्पतालमा भएका सामग्रीलाई सञ्‍चालन गर्न दक्ष जनशक्ति समेत छैनन् । तर, यी चार वटा अस्पतालमा गरी दैनिक १२० वटा शिशुहरूको जन्म हुने गरेको अस्पतालले जनाएका छन् ।

शिशुले अस्पतालमै जन्म लिए पनि उपचार नपाउने अवस्था छ । तर, अस्पतालमा उपचार गराइरहेका शिशुहरू गम्भीर अवस्थामा पुग्छन तब अस्पतालले अन्य ठाउँमा जानलाई सिफारिस गर्ने गरेका छन् । आईसीयू र भेन्टीलेटर भए पनि बिग्रेको र समयमा मर्मत नगरी अस्पतालले थन्क्याएर राखेका छन् ।  

चार अस्पतालमा गरी सघन उपचार कक्षको कुल संख्या ८९ वटा छन् । त्रिवी शिक्षण अस्पतालमा एनआईसीयू ७, भेन्टीलेटर ५ वटा छ । कान्ति बाल अस्पतालमा आईसीयू १२, भेन्टीलेटर ३ र २ वटा बिग्रिएको छ । पाटन स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्‍ठानमा आईसीयू ८ र भेन्टीलेटर ८ वटा छन् । परोपकार प्रसुती अस्पतालमा स्पेशल बच्चालाई केयर गर्ने बेड ३०, आईसीयू १० र भेन्टीलेटर ४ वटा छन् ।

दैनिक पाँच देखि दश जना गर्भवती महिला शल्यक्रिया गर्न आउने गरेको त्रिवी शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारी बताउँछन् । भर्खरै जन्मेका बच्चाहरूलाई गाह्रो भएमा उपचार गर्न सक्ने पर्याप्‍त स्थान रहेको उनले दाबी गरे ।

'बिरामी शिशुलाई जसरी पनि उपचारको व्यवस्था गरिन्छ,' उनले भने,' अस्पतालमा कुल ६० वटा आईसीयू छन् । आवश्यक परेमा अस्पतालको अन्य ठाउँबाट ल्याएर उपचारको व्यवस्था गर्न सकिन्छ ।'

अस्पतालमा उपचार गर्न आएका गरिरहेका शिशुलाई बाहिर उपचारका लागि नपठाइएको अधिकारीले दाबी गरे । अस्पतालमा भेन्टीलेटर मर्मत नगरी राखिएको छ । उपचार गर्न आएका बिरामीलाई नफर्काइने उनले बताए ।

कान्ति बाल अस्पतालमा उपचार कक्ष भए पनि पर्याप्‍त स्वास्थ्यकर्मी नभएको अस्पतालले जनाएको छ । देशभरको एक मात्र बाल अस्पतामा नवजात शिशुहरूको लागि उपचार कक्षको समेत अभाव छ ।  

सघन कक्ष छ, पर्याप्त जनशक्ति छैनन्

एनआईसीयू बेड १२ वटा र भेन्टीलेटर ५ छन् । तर, २ वटा भेन्टीलेटर बिग्रेकाले ३ वटा मात्र सञ्‍चालित रहेको अस्पतालकी नर्सिङ प्रमुख कविता पाण्डेले जानकारी दिइन् । उनका अनुसार भेन्टीलेटर भए पनि सञ्‍चालनगर्ने जनशक्ति छैनन् ।

एउटा नर्सले भेन्टीलेटरमा भएको पाँच वटा बिरामी हेर्ने गरेका छन् । सामान्य अवस्थामा एक जना नर्सको भागमा १५ जना बच्चालाई सेवा दिनुपर्ने अस्पतालको बाध्यता रहेको पाण्डेले बताइन् ।

शल्यक्रिया गर्न आउने महिलाको अनुसार अस्पतालमा उपचार कक्ष पर्याप्‍त नभएको पाण्डेको दाबी छ । अस्पतालमा सामग्री मात्र नभइ स्वास्थ्यकर्मीको समेत अभाव रहेको उनले जानकारी दिइन् ।

अस्पतालमा १ सय बेडको दरबन्दी छ । तर, अहिले ३२५ वटा बेड रहेको छ । कुल १७० नर्सिङले अस्पतालमा सेवा प्रवाह गरिरहेको उनले बताइन् । अस्पतालमा सरकारले दरबन्दीअनुसार स्वास्थ्यकर्मी पठाउन सकेको छैन । १० वटा दबन्दी भए पनि तर, जनशक्तिको व्यवस्थापनमा कठिनाइ भइरहेको उनले सुनाइन् ।

परोपकार प्रसुती अस्पतालमा बाहिरी जिल्लाबाट बढी उपचार गर्न आउने गरेको अस्पतालकी डा. कल्पना सुवेदीले बताइन् । शिशुका लागि विशेष बेड भए पनि अन्य सघन कक्षमा उपचार गरिने सामग्री अभाव रहेको उनको भनाइ छ ।

भेन्टीलेटरको अभाव हुँदा अस्पताललले बाहिरी अस्पतालमा रिफर गरेको छ । रेफ्ररल अस्पताल भएकाले अन्य अस्पतालमा भन्दा बढी शिशुहरू उपचार गर्न आउने गरेको डा. सुवेदीले जानकारी दिइन् । भेन्टीलेटर भए पनि सञ्‍चालनगर्न दक्ष जनशक्ति छैन । १० जना बिरामी बिरामीलाई २ जनाले नर्सले हेर्नुपर्ने बाध्यता रहेको उनले प्रस्ट पारिन् । अस्पतालमा वार्षिक २२ हजारले दैनिक ६० जनाले सेवा लिने गरेका छन् ।

निजीमा अस्पतालमा उपचार असम्भव भएपछि सरकारीमा आउदा बेड पाउदैनन्

निजी अस्पतालमा उपचार गरेर अन्तिम अवस्थामा बिरामी आउने गर्दा त्यस्ताले बेड नपाउने समस्या रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका निर्देशक डा. रवि शाक्यले बताए ।

उनका अनुसार रिफर भएर बिरामी आउने भएकाले बेड अभाव हुन सक्छ । निशुल्क उपचार हुने भएकाले यहाँ बिरामीको चाप बढदा समय-समयमा बेडको अभाव हुन सक्ने गरेको छ ।

अस्पतालमा समयमा उपचार गर्नेले आईसीयू र भेन्टीलेटर पाउने गरेको शाक्यले जानकारी दिए । बच्चाको उपचार गर्न २० वटा आईसीयू थप्‍न लागिएको छ । आईसीयू सञ्‍चालनगर्न स्वास्थ्यकर्मीलाई तालिम दिने व्यवस्था गरिरहेको उनको भनाइ छ ।

सरकारको नीति अनुसार बच्चाहरूको उपचार गर्न सघन कक्षको व्यवस्था गरिएको शाक्यले प्रस्ट पारे । दैनिक १५- २० जना महिलाले सेवा पाउने गरेका छन् । वार्षिक ३ हजारको हाराहारीले सेवा लिने गरेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x