स्वास्थ्य

छोरा बितेको बुवालाई, हजुरआमा बितेको हजुरबुवालाई सुनाइएन

डा. अनूप सुवेदी |
जेठ १७, २०७८ सोमबार १०:३३ बजे

काठमाडौँ : कोभिड-१९ ले नेपाललगायत विश्व नै प्रभावित छ । नेपालमा अहिले दैनिक सात/आठ हजारलाई संक्रमण गरिरहेको छ । कोभिडले एकै घरका चार जनाको पनि ज्यान गइरहेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सोमबार अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्यहरू भन्दै सार्वजनिक गरे । 'हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ' सुवेदीले लेखेका छन् 'वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा । अझै निकै अक्सिजन चाहिने हजुरबा सधैँ मलाई डिस्चार्ज गरिदिनू न डा. साब भन्‍नुहुन्छ ।


संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्य :
- हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा । अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्‍नुहुन्छ ।
- अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ । उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन । 
- अर्का बा-आमा दुवैजनालाई कोभिड। एकजना कान पटक्कै नसुन्‍ने, अर्कोले बुझाइदिनुपर्ने । छोराको अर्को अस्पतालको आइसियुमा मृत्यु भएको खबर कान सुन्‍ने चाहिंलाई सुनाइयो । उहाँले जीवनसाथीलाई बताउन सक्नुभएन। २ दिनदेखि आँसु लुकाउँदै रोइरहनुभएको छ ।
- ५-६ दिनअघि डिस्चार्ज भएर जानुभएकी आमा ओपिडीमा फलोअपमा । रातभरि सुत्नुहुन्‍न भनेर छोरीले भन्छिन् । अरू लक्षण छैनन् । जाँच्दा सबै राम्रै छ ।  म उल्लू 'आमा, अझै रोगदेखि डराइरहनुभएको छ कि ? अब त डराउनुपर्दैन, अब बाँचियो है' भन्छु ।
आमाले 'खै आफू मात्र बाँचेर के गर्नु बाबु, उहाँले छोडेर गइहाल्नुभयो' भन्दै बर्बर आँसु झार्नुहुन्छ । बा उहाँ अस्पतालमै हुँदै बित्नुभएको रहेछ ।

महामारीको अघिल्लो उभारको बेलाको एउटा अनुभव :
- दाइ उमेरका उहाँ । खासमा झन सिकिस्त उहाँकी श्रीमतीलाई पनि हाम्रै ईमर्जेन्सीमा ल्याइएको रहेछ । तर आइसियुमा बेड नभएकोले भाउजूलाई चाहिं अर्को अस्पतालमा रेफर गरिएको रहेछ । हरेक दिन राउन्डमा उहाँ मलाई लौन मेरी श्रीमतीलाई पनि यहीं आइसियुमा सार्न बेड मिलाइदिनोस् न भन्‍नुहुन्थ्यो । अन्यत्र बेडै नपाएका अरू सिकिस्त बिरामी पनि धेरै आइरहेका छन्, तिनलाई आइसियुमा प्राथमिकता दिनु परिहाल्छ, उता पनि तपाईंकी श्रीमतीको उपचार गर्ने राम्रो टिम होला, चिन्ता नलिनुहोस् भन्थें । निको भएर डिस्चार्ज हुने दिन दाइले भर्खर भाउजूको मृत्युको खबर पाउनुभएको रहेछ । रुँदै भन्‍नुभोः डा साब,तपाईंले उसलाई यहाँ आइसियुमा सारिदिनुभएको भए ऊ पक्कै बाँच्थी ।

यस्ता बेलामा ती अथाह वेदनामा रहेकालाई के भन्‍ने ? समवेदना- जुन "सम" कसैगरी हुनै सक्दैन- पनि कसरी दिने ?
यस्तो बेलामा कसरी सान्त्वना दिने केही भेउ नपाएको, पूरै निरीह मजस्ताले कहिलेसम्म यस्तो सधैं फेल भइने, सधैं भाग्‍न मन लाग्ने जाँचमा परिरहनुपर्ने होला ? 

महामारीमा मेरा बिरामीका जस्ता कथा कति होलान् ?
स्वास्थ्यकर्मीहरूका फुकाउन मिल्ने नमिल्ने मनका गुजुल्टा कति होलान् ? मैले त्यस बेला त्यसो गरेको भए पो बचाउन सकिन्थ्यो कि भन्‍ने कति कति थान 'गिल्ट' सँगालिनेछन् होला महामारी सकिंदासम्म ? अन्त गर्न नजानेर प्रश्नमै टुङ्ग्याएँ ।


Author

डा. अनूप सुवेदी

सुवेदी संक्रामक रोग विशेषज्ञ हुन् ।


थप समाचार
x