स्वास्थ्य

विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड

इकागज |
जेठ २१, २०८० आइतवार १६:५३ बजे

फाइल फोटो

जाजरकोट - बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । आर्थिक अभावका कारण  अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि दैनिक सेवा लिनेको सङ्ख्या बढ्न थालेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख रामबहादुर रोकायले बताए । 

गाउँ–गाउँमा स्वास्थ्य संस्था भए पनि लिम्सास्थित  स्वास्थ्य संस्थामा र  सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्र अल्ट्रासाउण्ड सेवा उपलब्ध थियो । 


बारेकोटमै अल्ट्रसाउण्ड सेवा सुरु भएपछि यहाँका महिलाले निःशुल्क सेवा लिन थालेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । गाउँपालिकले  आर्थिक अवस्था नाजुक भएका सबै गर्भवतीलाई यो सेवा सुरु गरिएको उनको भनाइ थियो ।

यसअघि यहाँका गर्भवतीमध्ये ९० प्रतिशतले  अल्ट्रसाउण्ड सेवा लिन पाएका थिएनन् । पहुँच तथा हुनेखाने परिवारका गर्भवतीले मात्र स्वास्थ्य सेवा लिए पनि अधिकांशले स्वास्थ्यपरीक्षण गराउने गरेका थिएनन् । 

घण्टौँ हिँडेर स्वास्थ्य सेवा पुग्नुपर्ने, त्यसमा पनि प्रभावकारी सेवा नपाउने भएपछि यहाँका महिला असुरक्षितरूपमा बच्चा जन्माउने गरेका थिए । अब गाउँमै स्वास्थ्यपरीक्षण हुने भएपछि खुसी लागेको बारेकोट–५ की आशा शाहीले बताए । रासस


Author

थप समाचार
x