स्वास्थ्य

सुर्तीजन्य पदार्थको कर बढाएर विपन्नको निःशुल्क उपचार गर्छु : स्वास्थ्यमन्त्री बस्नेत

इकागज |
जेठ ४, २०८० बिहीबार २१:२१ बजे

फाइल तस्बिर

सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउन सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने बताएका छन् ।

आज यहाँ एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गर्दै उनले विपन्न नागरिकको सहज र निःशुल्क स्वास्थ्योपचारमा पहुँच पुर्याउनका लागि सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न आवश्यक रहेको बताए ।


'विपन्न नागरिकको उपचार जिम्मेवारी सरकारले लिनुपर्छ । तर, स्वयं मन्त्रालयसँग बिरामीलाई सहयोग गर्न रकम छैन,' उनले भने, 'त्यसैले सुर्तीजन्य पदार्थमा कर ह्वात्तै बढाएर त्यसबाट प्राप्त रकमलाई कोषको रूपमा खडा गरेर बिरामीको उपचारका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव गरेको छु । छिट्टै स्वीकृत भएर काम अघि बढ्नेछ ।'

मन्त्री बस्नेतले स्वास्थ्यमा बजेट बढाउन निरन्तर पहल गरिरहेको दाबीसमेत गरे । उनले भने, 'स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङमा घटेर आयो । म आएपछि, मन्त्रालयको टोलीले नै अर्थ मन्त्रालयमा अनुरोध गरेपछि सात अर्ब बजेट थप्न सकेका छौँ ।'

उनले एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको स्तरोन्नतिका लागि  आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत गरे । सामुदायिक अस्पतालको स्तरोन्नति गर्न आफू लागिपरेको भन्दै मन्त्री बस्नेतले धुलिखेल सामुदायिक अस्पताललाई ट्रमा अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।

सुनकोसी गाउँपालिका र एक–एक पाइला फाउण्डेशनको साझेदारीमा सञ्चालित अस्पताल गत साउनदेखि सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनमा आएदेखि हालसम्म तीन हजार सेवाग्राहीले उपचार सेवा लिएका छन् । मुख्यतः सुनकोसी, लिसङ्खुपाखर, काभ्रेको भुम्लु र चौतारा साँगाचोकगढीका स्थानीय लाभान्वित भएको अस्पतालका प्रमुख डा विनोद रानामगरले बताए ।


Author

थप समाचार
x