स्वास्थ्य

मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

इकागज |
जेठ १, २०८० सोमबार १०:४ बजे

फाइल फोटो

मोरङ - बेलबारीस्थित एक बङ्गुर फर्ममा  ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । 

बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा  सो रोगको लक्षण देखापरेको हो ।  चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताए । “केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो”, वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताएका उनले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याएका थिए । २५ लाखभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए । छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगले असर नदेखाएको जनाइएको छ । उनले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फर्म सञ्चालन गर्दै आएका छन् । 


बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भने , “अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षण लागी विराटनगर हुँदै काठमाडौँ पठाइएको छ । ” रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्छ तर प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने उनले बताए । उनका  अनुसार यो रोगको लक्षण दुई वर्षअघिमात्र नेपालमा भित्रिएको हो । 
रासस


Author

थप समाचार
x