स्वास्थ्य

कास्की कारागारका कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण

इकागज |
बैशाख १९, २०८० मगलवार २१:११ बजे

लेखनाथ- कास्की कारागारका थप १३ जना कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण भेटिएको छ । कारागारका सात सय ३३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा १३ जना कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण भेटिएको हो ।

कारागारमा चार जना पुरानै क्षेयरोग सङ्क्रमित रहेका छन् । हाल कास्की कारागारभित्र नयाँ र पुराना गरी १७ जना क्षयरोग सङ्क्रमित पुगेका छन् । कास्की कारागारका जेलर भीमराज कोइरालाका अनुसार क्षयरोग रोगको आशङ्कामा ३६ जनाको नमूना जाँचका लागि क्षयरोग केन्द्रमा पठाइएको छ ।


'पुराना र नयाँ क्षयरोग सङ्क्रमण १७ जनालाई कारागारभित्र छुट्टै कोठामा राखिएको छ । सोमबार र मङ्गलबारको परीक्षणबाट भेटिएका नयाँ १३ सङ्क्रमणलाई पनि बुधबारदेखि नै औषधि चलायौँ,' जेलर कोइरालाले भने । 

जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) ले कास्की कारागारमा सोमबारदेखि कैदीबन्दीको क्षेयरोग परीक्षण गरेको हो । उक्त संस्थाका कार्यकारी निर्देशक रामशरण गोपालीले डिजिटल चेष्ट एक्सरे मेसिनको माध्यमबाट कैदीबन्दीको क्षयरोग परीक्षण गरिएको जानकारी दिए । एक चिकित्सकसहित पाँच जना प्राविधिक टोलीले सोमबारदेखि कास्की कारागारका कैदीबन्दीको क्षयरोग सङ्क्रमणको जाँच गरेको हो । 

उक्त मेसिनबाट छातीको एक्सरे गरी सङ्क्रमण भेटिएमा उपचारका लागि समन्वय र व्यवस्थापन गरिने जानकारी उक्त संस्थाका निर्देशक गोपालीले बताए । कास्की कारागारलगत्तै बुधबारदेखि बालसुधार गृह सराङकोटका ८५ बालकको क्षयरोग सङ्क्रमण जाँच गरिने उनले जानकारी दिए । 

उक्त संस्थाले नेपाल सरकारको राष्ट्रिय क्षयरोग कार्यक्रमसँग हातेमालो गर्दै बागमती र गण्डकी प्रदेशमा क्षयरोगको सक्रिय खोजपड्ताल गर्दै आएको छ । विशेषगरी कारागार, वृद्धाश्रम, बालसुधार गृह, उद्योग तथा कलकारखाना, सुकुम्बासी तथा मजदुर बस्ती तथा गुम्बामा क्षयरोगीको खोजपड्ताल गर्ने गरेको उनले बताए ।

सङ्क्रमणलाई नियमित औषधि सेवनका लागि कास्की कारागारको स्वास्थ्य शाखाको निगरानीमा हुने जानकारी जेलर कोइरालाले बताए । क्षयरोग लागेर औषधि सेवन गरेकामध्ये ९० प्रतिशत निको भएको जानकारी जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाका म्यानेजर विजय महर्जनले दिए ।

कास्की कारागारका कैदीबन्दीमा क्षयरोग, छाला, छारेरोग, डिप्रेसन, निमोनियालगायतका बिरामी रहेको कास्की कारागारका अहेव तपरमण पोखरेलले बताए । कास्की कारागारमा सात सय ३३ कैदीबन्दी र चार नाबालक छन्  । सात सय ३३ मध्ये ३९ जना महिला कैदीबन्दी छन् ।  

कारागारमा खानेपानी, बिजुली, बस्ने ठाउँ, स्वास्थ्योपचार र सुरक्षाको समस्या छ । कारागारका सबैजसो भवन जीर्ण भएको कारागार प्रशासनले जनाएको छ । आधारभूत आवश्यकता खानेपानीकै हाहाकार छ । कारागारमा कैदी,बन्दीको सुरक्षा र खाने, बस्ने व्यवस्थापन गर्नकै लागि अप्ठ्यारो भएको कारागार जेलर कोइरालाले बताए । 

एक थुनुवाका अनुसार कारागारमा खानेपानीको सधैँ समस्या छ । कारागारमा पानी त आउँछ तर अपुग हुन्छ । खानेपानीमात्रै होइन, उनीहरू सुत्नसमेत राम्रोसँग पाउँदैनन् । प्लास्टिक म्याट बिछ्याएर भुइँमै सुत्नुपर्ने बाध्यता छ । वर्षा लागिसक्यो बर्सातमा पानी चुहिने डर छ, जस्तापात पुराना भइसके, एक थुनुवाको गुनासो छ ।  

प्राथमिक उपचार कारागारभित्रै हुनुपर्ने कानुनमा व्यवस्था छ तर, स्रोत र साधनको कमीले सामान्य समस्याको उपचार गर्न पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजानुपर्ने अवस्था रहेको कर्मचारी बताउँछन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा शौचालयसमेत अव्यवस्थित हुन पुगेको छ । 

कारागारको प्रशासनिक भवन छैन । जस्ताका छानामुनि स–साना कोठामा विषयगत शाखा र तिनमा कार्यरत कर्मचारी छरिएर रहनुपर्ने स्थिति छ । कारागारजस्तो संवेदनशील क्षेत्रको सुरक्षा प्रबन्धका लागि बनाइएका सुरक्षा पोष्ट जीर्ण छन् । बाहिरी पर्खालको उचाइ कम हुँदा सुरक्षा चुनौती छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३२ जना प्रहरी कार्यरत रहेका छन् । 

कैदीबन्दीको स्वास्थ्य उपचारका लागि विभागले पनि कम बजेट छुट्याउने गरेको गुनासो जेलर कोइरालाले छ । कैदीबन्दीले मुढा, झोला, भाङ्ग्रालगायत सामग्री बुन्ने गरेका छन् । त्यस्ता सामग्रीको बिक्रीकक्ष पनि राखिएको छ । पछिल्लो समय जेललाई सुधार गृहका रूपमा विकास गर्न पहल भए पनि प्रगति हुन सकेको छैन । रासस


Author

थप समाचार
x