स्वास्थ्य

बढ्दैछ रगतको अभाव

इकागज |
चैत ९, २०७९ बिहिवार १६:४१ बजे

फाइल फोटो

चितवन - रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ ।

अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही उमेर समूहका व्यक्ति काम तथा अध्ययनका लागि बाहिरिँदा रगतको अभाव हुन थालेको हो ।


यहाँ रक्तसञ्चार केन्द्रले रगत संकलनका लागि शिविर सञ्चालन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले युवा जनशक्ति पलायन हुँदा रगतको अभाव बढ्दै गएको बताए । 

विगतमा एउटा शिविरमा ७० देखि एक सय युनिट रगत संकलन हुने गरेकामा हाल ३० देखि ५० युनिट मात्र संकलन हुने गरेको छ । उनका अनुसार कतिपय शिविरमा १०–१५ युनिट मात्रै रगत संकलन हुने गर्दछ । कुनै दिन चार वटा शिविरबाट रगत संकलन गर्दा समेत एक सय युनिट पु¥याउन मुस्किल हुने पौडेलको भनाइ छ ।

“एक वर्षमा तीन सयसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने गरेको छ । दश जोड दुई पढेर अध्ययनका लागि बाहिर गएको जनशक्ति तथा  रोजगारीका लागि बाहिरिने युवा मुख्य रक्तदाता हुन्”, उनले भने । यो जनशक्ति बाहिरिँदा रगतको अभाव भएको हो ।

यहाँ क्यान्सरका बिरामी, दुर्घटनाका घाइते, शल्यक्रियामार्फत् गरिने प्रसूति र अन्य उपचारमा रगत धेरै माग हुने गर्दछ । दैनिक चितवन र छिमेकी जिल्लाबाट उपचारका लागि आउने बिरामीका आफन्त रगतको खोजीमा भौतारिन बाध्य छन् ।
 
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चैतदेखि साउनसम्म गर्मीको मौसममा रगतको अभाव बढ्ने गरेको छ ।  दैनिक एक सय ५० युनिटको हाराहारी रगतको माग हुने गर्दछ । यहाँ सञ्चालन हुने शिविरमा ७५ युनिट मात्रै रगत संकलन हुने गरेको छ । बाँकी अपुग रगत बिरामीका आफन्तले आफन्त, इष्टमित्र, छरछिमेकी, स्वयंसेवी रक्तदाता र विगतमा रक्तदान गरेकाहरुको खोजी गरी व्यवस्थापन गर्दै आएका छन् । 

केन्द्रले चितवनसहित छिमेकी जिल्लामा रक्तदान कार्यक्रम गरेर रगत संकलन गर्ने गरेको छ । गत आर्थिक वर्षमा ती जिल्लाबाट मात्रै शिविरमार्फत् तीन हजार युनिट रगत संकलन गरिएको थियो ।

पोखराबाट प्रशोधन गरिएको दुई हजार पाँच सय युनिट रगत ल्याएर बिरामीलाई चढाइएको थियो । कलेजो प्रत्यारोपण गर्न रगत अभाव भएपछि बिरामीका आफन्तले काठमाडौँबाट दुई सय ५० युनिट रगत यहाँ झिकाएका थिए । रासस
 


Author

थप समाचार
x