स्वास्थ्य

जुम्लामा १० बेडको आँखा अस्पताल स्थापनाका लागि पहल

इकागज |
माघ २९, २०७९ आइतबार १४:४२ बजे

फाइल फोटो

जुम्ला - आँखा उपचार केन्द्र जुम्लाले आँखा अस्पताल स्थापना गर्नका लागि अभियान सुरु गएको छ । नेत्र ज्योति संघ जुम्लाले १० बेडको  चन्दनाथ आँखा अस्पताल स्थापनाका लागि पहल गरिरहेको छ । 

 आँखा उपचार केन्द्रलाई स्तरोन्नति गरेर चन्दननाथ नेत्र ज्योति संघ आँखा अस्पताल स्थापना गर्न थालिएको छ  । नेत्र ज्योति संघ जुम्लाका सभापति धनबहादुर बस्नेतका अनुसार हरेक वर्षको २र३ पटक आँखाको सल्यक्रिया गर्नका लागि शिविर सञ्चालन गर्नु परेको छ ।


सधैँ बाहिरबाट चिकित्सक ल्याएर शिविर सञ्चालन गर्नुभन्दा दैनिक शल्यक्रिया हुने गरी आँखा अस्पताल नै स्थापना गर्न थालिएको उनले बताए  । ‘वर्षमा एक पटक मात्रै शिविर सञ्चालन गर्दा तीन सय जना भन्दा बढीको आँखा शल्यक्रिया र ३५ सय भन्दा बढीको आँखा परीक्षण हुने गरेको थियो,’ उनले भने, आँखा अस्पताल स्थापना गर्नका लागि सहयोगको अपिल पनि गरेका छौँ । आजीवन सदस्यहरूले स्वयंसेवक काम गर्दै आएका छन् ।’

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले नेपाल नेत्र ज्योति संघ केन्द्रले उपकरण र एक जना चिकित्सक पठाएको बताए । 

‘चिकित्सकलाई सहयोग गर्ने दुई जना कर्मचारी भर्ना गर्नका लागि स्थानीय सरकारसँग सहयोग मागेका छौँ,’ उनले भने, ‘अहिले हामी यहाँका स्थानीय तह चन्दननाथ नगरपालिका, हिमा, सिँजा, कनकासुन्दरी, तिला, तातोपानी, पातारासी र गुठीचौर गाउँपालिका जुम्लासँग सहयोगका लागि भेटघाट कार्यक्रम थालिएको छ  ।’

स्वर्गीय हरिचन्द्र महतले ०४८ सालमा नेपाल नेत्र ज्योति संघ जुम्ला स्थापना गरेका हुन् ।  अहिले २५० जना आजीवन सदस्य रहेका छन् । एक जना आजीवन सदस्यबाट दुई हजार ७०० रुपैयाँ शुल्क लिने गरिएको नेत्र ज्योति संघ जुम्लाले जनाएको छ ।  
 


Author

थप समाचार
x