स्वास्थ्य

पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिदिने हलेसी तुवाचुङको तयारी

इकागज |
माघ १७, २०७९ मंगलबार १७:३३ बजे

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिदिने तयारी गरेको छ । घर–घरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परीक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ जना महिलाको निःशुल्क उपचारको तयारी गरेको हो । 

पाठेघर खसेका महिलाको पहिचानका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाएको नगरपालिकाले पहिचान भएका पाठेघर खसेका महिलालाई बनेपा लगेर उपचार गर्ने प्रबन्ध मिलाइएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए । पाठेघर खसेका महिलाको शल्यक्रिया खर्च र उनीहरुको कुरुवालाई लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने जनाएको छ ।


पाठेघर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य बिताइरहेका महिलाको पहिचान गर्दै उपचार व्यवस्थाका लागि नगरपालिकाले गत माघ १ देखि ९ गतेसम्म घर–घरमा स्वास्थ्यकर्मी पठाएको थियो । 

घर–घरमा पुगेर २२५ महिलाको पाठेघरको परीक्षण तथा उपचार गर्दा ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था पत्ता लागेको हो । नगरपालिकाको ११ वडामध्ये बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडामा पाठेघर खस्ने समस्या पहिचान भएको हो । डिकुवामा २ जना, च्यास्मिटारमा ५, दुर्छिममा ९, महादेवस्थानमा ५, धितुङमा २, सल्लेमा २, अर्खौलेमा ४ र राजापानीमा ३ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको नगरपालिकाले जनाएको छ । 

परीक्षण गरिएकामध्ये १०६ जनाको पाठेघरमा रिङप्रेसरी राखिएको छ । यस्तै, १०४ जना महिलाको पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार गरिएको छ । पाठेघरको समस्या सुरु भएका महिलालाई आवश्यकताअनुसार औषधि वितरण र परामर्श प्रदान गरिएको स्वास्थ्य संयोजक घिमिरेले बताए । पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिविरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले स्वास्थ्यकर्मीलाई घर–घरसम्मै पठाएको थियो ।

पाठेघर झरेर पहिलो र दोश्रो स्टेजमा पुगेका महिलाको उपचारका लागि रिङप्रेसरी राख्ने, घाउ उपचारका लागि औषधि प्रदान गर्ने र तेश्रो र चौथो स्टेजमा पाठेघर खसेका महिलाको तथ्यांक संकलन गरेर उपचारको प्रबन्ध गर्न लागिएको हो ।

अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिबिर सञ्चालन गरेको थियो । तर, शिविरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि घर–घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको मेयर बिमला राईले बताइन् ।

गत शिविरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्बिर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी थिइन् । 


Author

थप समाचार
x