स्वास्थ्य

मनाङ अस्पतालमै छैन एम्बुलेन्स

इकागज |
माघ १४, २०७९ शनिवार १५:२४ बजे

फाइल फोटो

मनाङ - जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । 

एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन् । पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ । 


पर्यटक तथा स्थानीयलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको एकदमै खाँचो रहेको जिल्ला अस्पतालका प्रमुख डा रहमद अन्सारीले बताए । 'अस्पतालसित एम्बुलेन्स छैन, गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था भएमा एम्बुलेन्स खोज्दाखोज्दै बिरामीको ज्यान जाने हो कि भन्ने त्रास हुन्छ', उनले भने । उनका अनुसार गाउँपालिकामा भएका एम्बुलेन्स बिग्रिएर थन्किएका छन् । 
    
जिल्ला रेडक्रस सोसाइटीसित भएको एम्बुलेन्स मनाङ ङिस्याङ गाउँपालिकामा बिग्रिएर थन्किएको छ । सदरमुकाम चामे गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएको छ । 'अस्पतालसित आफ्नै एम्बुलेन्स एकदमै आवश्यक छ', डा अन्सारीले भने । 

एम्बुलेन्सका लागि रेडक्रसको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न अस्पतालले स्थानीय, प्रदेश र संघीय  सरकारलाई गुहार्दै आएको छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पटक–पटकको बैठकमा एम्बुलेन्सको आवश्यकताबारे छलफल गरी सम्बन्धित निकायसँग माग गर्दैआएको  बताए । 'स्थानीयलाई सहज स्वास्थ्य उपचार प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराउन प्रतिवद्ध भइ सम्बन्धित निकायसँग समन्वय  गरिरहेका छौँ', उनले भने । 

एम्बुलेन्स अभाव हुँदा गत वर्ष बिरामी हुँदा हेलिकप्टर चार्टड गरेर पोखरा गएको स्थानीय कर्मछिरिङ गुरुङले बताए । सरकारले एम्बुलेन्स सेवा उपलब्ध गराएको अवस्थामा नागरिकले सास्ती भोग्नु नपर्ने उनको भनाइ छ । मनाङमा कोही  गम्भीर बिरामी भएमा अस्पताल पुर्‍याउन हेलिकप्टरको भर पर्नुपर्ने हुन्छ । तर यहाँको मौसम अधिकांश समय प्रतिकूल रहने हुँदा सडककै भर पर्नुपर्ने स्थानीयवासी बताउँछन् । रासस


Author

थप समाचार
x