स्वास्थ्य

मकवानपुरमा बढ्दै डेङ्गुका बिरामी

इकागज |
साउन २२, २०७९ आइतबार ९:१ बजे

फाइल तस्बिर

मकवानपुर - मकवानपुरमा डेङ्गुको संक्रमण फैलने क्रम बढेको छ । पछिल्लो साता दैनिक जसो डेङ्गुको नयाँ संक्रमण देखिन थालेको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो १९ दिनमा डेङ्गु संक्रमितको सङ्ख्या ५० नाघेको छ । साउन महिनाको दोस्रो साताबाट सुरु भएको डेङ्गु संक्रमण अझै नियन्त्रणमा नआएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।


मकवानपुरका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाका सबैभन्दा धेरै डेङ्गु संक्रमण पुष्टि भएको घिमिरेले बताए ।

गत आर्थिक वर्षमा १ सय ९५ जनामा डेङ्गु संक्रमण भएको थियो । त्यस्तै स्क्रबटाइफसका बिरामी ५५ जना, मलेरियाका बिरामी ३० जना र कालाजारका बिरामी २ जना भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

के हो डेङ्गु
डेङ्गु रोग एडेक्स प्रजातीका लाम्खुट्टेको टोकाइबाट सर्ने एउटा भाइरल रोग हो। डेङ्गु रोगको जीवाणु फ्लाभी भिरिडे भन्ने परिवारको डेङ्गु भाइरस अलग प्रकारको हुन्छ ।

डुङ्गु लागेपछि सामान्यतया ८ देखि १० दिनमा निको हुने गर्छ। यसको कुनै खास औषधि उपचार नभएकोले ज्वोरोलाई नियन्त्रणमा राख्ने, शरीरमा पानीको मात्रा घट्न नदिनेमा बढी धेरै ख्याल गर्नुपर्छ।
 
लाम्खुट्टेले टोकेको औसत ३ देखि ७ दिनमा यो रोगको लक्षण देखा पर्छ। यो समय व्यक्तिको शरीरमा भएको रोगसँग लड्ने क्षमतामा भर पर्छ। डेङ्गु लागेको व्यक्तिलाई ज्वरो सुरु भएको १ दिन अगाडी र ६, ७ दिन पछिसम्म लाम्खुट्टेले टोक्दा यो रोगको जीवाणु लाम्खुट्टेमा सर्छ।

लाम्खुट्टेमा सरेको ६, ८ दिनमा यो जीवाणु लाम्खुट्टेका र्‍याल ग्रन्थीमा गुणात्मकरूपमा वृद्धि हुन्छ। डेङ्गु लगिसकेको लाम्खुट्टेले उसको जीवन भर डेङ्गु सार्न सक्छ तर उसलाई भने यो रोगले कुनै नकारात्मक असर पर्दैन।

लक्षणहरू
एक्कासि हनहनी ज्वरो आउनु यो रोगको पहिलो लक्षण हो। स्मरण रहोस् कहिलेकाही ज्वरो नआइ नै पनि डेङ्गु भएको हुन सक्छ।

टाउको दुख्नु, आँखाको गेडोको वरिपरि वा पछाडितिर दुख्नु जीउ दुख्नु, जिउ थकित हुनु, जिउमा सियोको टुप्पो झैँ सानो आकारको रातो दाग आउनु, बान्ता हुनु र होला जस्तो हुनु, खाना रुचि नहुनु, झाडापखाला हुनु जस्ता लक्ष्यण देखा पर्दछन् ।

उपचार
प्रसस्त पानी पिउने, आराम गर्ने, शारीरिक बल पर्ने काम गर्दै नगर्ने, ज्वरो आउन नदिन औषधि खाने, अस्पतालमा भए सलाइन पानी दिने, यदि रोग दोस्रो वा तेस्रो अवस्थामा पुगे बिरामीलाई रगत पनि दिनु पर्ने हुन सक्छ यसमा ध्यान दिने गर्नाले संक्रमणबाट चाँडै उठ्न सकिन्छ ।

बच्ने उपाय
- यो रोगबाट बच्न पहिला लाम्खुट्टेको टोकाइ बाट बच्नु पर्दछ, यसको लागि हात खुट्टा छोप्ने लुगा लगाउने,
- पानी जम्ने टायर, फलिएका भाँडाबर्तन, प्लाष्टिकका कागजहरूमा पानी जम्न नदिने,

- स्कुल, चौर, घर वरपर लाम्खुट्टे भगाउने औषधि छर्किने, हातखुट्टामा लाम्खुट्टे भगाउने लोसन कृम लगाउने, साझ पर्न लग्दा घरका झ्यालहरू बन्द गर्ने, अनावश्यक बाहिर नजाने, केटाकेटीलाई बाहिर अनावश्यक हिंड्नरखेल्न नदिने, भिटामिन सि पाइने फलफूलहरू खाइ रहने गर्नु पर्दछ ।

डेङ्गु नियन्त्रण गर्न हेटौंडा उपमहानगरद्वारा स्प्रे
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गु रोग संक्रमण बढ्दै गएपछि नगरपालिकाले संक्रमण नियन्त्रणको लागि स्प्रे गर्न थालेको छ ।

उपमहानगरको वडा नम्बर ४ र ५ बढी संक्रमित भेटिएपछि यो क्षेत्रमा स्प्रे गरेको छ । हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्धन शाखाका जनस्वास्थ्थ अधिकृत भोला चौलागाईका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जिवाणु नष्ट गर्ने गरी डाइथाल कार्वसेट पानीमा मिसाएर छिट्न थालिएको बताए ।

संक्रमणलाई फैलन नदिनका लागि जनस्तरमा मट्टीतेलको प्रयोग गरी लार्भा नष्ट गर्न माइकिङ पनि गरिएको छ । हेटौंडा ४ को कमलडाँडा क्षेत्र, मेनरोडमा स्प्रे गर्ने कार्य नगरप्रहरीको मद्दतबाट भैरहेको उनले बताए ।

संक्रमण फैलिएका वडाको जोखिम पुर्ण क्षेत्रको पहिचान गरी आवश्यकता अनुसार संक्रमण नियन्त्रणको अभियान सञ्चालन गरीने जनस्वास्थ्य अधिकृत चौलागाईँले बताए ।

कोरोना संक्रमणका बिरामीको दर बढ्दै गएसँगै नगरमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामीको संख्या पनि बढ्न थालेपछि उपचारमा समस्या हुन थालेको छ ।  अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।

मकवानपुर जिल्लाको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने ४ र ५ मा बढी मात्रामा बिरामीहरु देखिएको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा केही संख्यामा डेङ्गु संक्रमित देखिएपनि नगर भित्रै देखिनुले समस्या भएको कार्यालयलले जनाएको छ । बिस्तारै बिरामीको संख्या बढ्दै जानुले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ । संक्रमितहरुको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ ।


Author

थप समाचार
x