स्वास्थ्य

हैजाबाट कसरी बच्‍ने ? डाक्टर रवीन्द्र पाण्डेको १२ सुझाव

डा. रवीन्द्र पाण्डे |
असार १०, २०७९ शुक्रवार ९:० बजे

काठमाडौँका केही व्यक्तिहरूमा हैजा भएको पुष्टि भएको छ । काठमाडौँमा हैजा, फुड प्वाइजनिङ, आउँलगायत फैलिएको छ । यो अवस्थाबाट बच्‍नको लागि जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले तलका उपाय सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । उक्त सुझाव हामीले पाण्डेको फेसबुकबाट लिएका छौँ :

- सबै प्रकारको पानी (धारा, इनार, ट्यांकर, जार, मिनरल वाटर आदि ) फिल्टर गरेर तथा १० मिनेट भकभक उमालेर (Rolling boil) मात्र पिउनुहोला । कतै जाँदा घरको पानी बोतलमा बोकेर जानुहोला ।


- सकभर बाहिर खाना तथा खाजा नखानुहोला । खानु परेमा किचेन, भाँडा, पकाउने व्यक्ति आदि सफा भएको ठाउँमा मात्र खानुहोला । सकभर पानीको प्रयोग नहुने खाजा खानुहोला ।

- तरकारी राम्रोसँग पखालेर तथा पूर्ण पाकेको मात्र सेवन गर्नुहोला ।

- मासु सफा ठाउँमा मात्र किनेर तथा राम्रोसँग पकाएर मात्र खानुहोला ।

- फलफूल राम्रोसँग धोएर, ताछेर मात्र खानुहोला ।

- धेरै बालबालिका पौडी खेलेपछि (स्वीमिङ गरेपछि) बिरामी भएका छन् । हाम्रा पौडी खेल्ने ठाउँमा पर्याप्त पानी आउने /जाने व्यवस्था छैन । स्विमिङ पुलमा पिसाबको मात्रा अत्यधिक हुन्छ । शरीरको मयल, जुठो आदि हुने नै भयो । त्यस्तो पानीबाट  हैजा, झाडावान्ता, हेपाटाइटिस ए, टाइफाइड ज्वरो, छालाका रोग आदि सर्ने सम्भावना अत्यधिक हुन्छ । तसर्थ यो वर्षा महिनामा पौडी नखेल्नुहोला ।

- वर्षाको पानीले एक ठाउँको फोहोर अर्को ठाउँमा पुर्‍याएको हुन्छ । हाम्रा जुत्ता तथा गाडीको टायरमा फोहोरको रस टाँसिएको हुनसक्छ । तसर्थ घरमा आएपछि जुत्ता, चप्पल, टायर राम्रोसँग पखालेर तथा जुत्ता/चप्पल बाहिर राखेर मात्र घरभित्र पस्नुहोला ।

- दुधलाई राम्रोसँग उमालेर मात्र पिउने गर्नुहोला ।

- यदि दिनमा ३ पटक वा सो भन्दा बढी पटक पखाला लाग्यो वा पातलो दिसा भयो भने जीवनजल, सादा पानी, सुप, दालको रस प्रशस्त मात्रामा पिउने गर्नुहोला । हैजादेखि अन्य झाडावान्तामा शरीरमा पानीको मात्रा कम भयो भने जोखिम बढ्ने हो । तसर्थ प्रशस्त झोलिलो खाने, नजिकको स्वास्थ्य संस्थामा गएर औषधि खाने गर्नुहोला ।

- हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने भएकोले उक्त ब्याक्टेरिया एन्टिबायोटिकले मर्दछ । हैजामा मान्छेको मृत्यु ब्याक्टेरियाको कारणभन्दा जल बियोजन (Dehydration) को कारणले हुन्छ । तसर्थ औषधि तथा प्रशस्त पानी, जीवनजल सेवन गरेमा अस्पताल जानु पर्दैन ।

- पानी तथा जीवनजल पर्याप्त मात्रामा खान नसकेमा, चौलानी पानी जस्तो पातलो पखाला लागेमा, मुख सुकेमा, छाला चिसो भएमा, पिसाब कम भएमा तथा बिरामी गलेमा तुरुन्तै नजिकको अस्पतालमा जानुहोला । यस्ता बिरामीलाई सलाइनबाट उपचार गर्नुपर्ने हुन्छ । जल बियोजनको कारण अन्य अंग (किड्नी)मा असर परेमा आइसीयुमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

- समयमै उपचार गरेमा हैजा तथा अन्य झाडावान्ताबाट मृत्यु हुने सम्भावना निकै कम हुन्छ । यी रोग फिको ओरल अर्थात दिशाजन्य हात र मुखको सम्पर्कबाट हुने भएकोले हात पटकपटक धुने, स्यनिटाइज गर्ने, साबुनपानीले मिचिमिची हात धोएर मात्र खाना खाने, हातलाई मुखमा राख्‍ने बेला हात सफा हुनुपर्ने आदि बानीको विकास गर्नुपर्दछ । हैजा भए/नभएको दिसाको कल्चर गरेर पत्ता लाग्दछ ।


Author

डा. रवीन्द्र पाण्डे

पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।


थप समाचार
x