स्वास्थ्य

सगरमाथाकाे चुच्चाेबाट फर्केपछि आफूलाई चिनेका डा. रामकुमार

अतिन आचार्य |
जेठ २०, २०७९ शुक्रबार ९:१३ बजे

काठमाडौँ- 'हिमालमा जोखिमहरू हुन्छन्, जीवनमा हिमालहरू हुन्छन् । जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो । जोखिमहरूदेखि तर्सनेहरू सधैँ कुरुप कविता रचना गर्छन्,' करिब दुई दशक अघि प्रकाशित 'चुली' लघु उपन्यासमा साहित्यकार सरुभक्त लेख्छन्,' होइन । मान्छे मरे पनि मानवता कहिले पनि मर्दैन । महानता कहिले पनि मर्दैन । हिमालहरू महान छन् तर हिमाल चढ्ने इच्छा हिमालहरूभन्दा महान छ ।'

हिउँका पहाड छिचोलेर हिमालको चुचुरोमा पुग्नेहरूलाई थाहा हुन्छ संघर्ष र सफलताको स्वाद । अदम्य साहस, आँट र मेहनतले चुचुरोमा पुगेर फर्किनेहरू बाधा र अड्चन छिचोल्न सिपालु हुन्छन् । सगरमाथाको चुचुरो चुम्ने चाहना धेरैको हुन सक्छ तर, आँट र साहस बटुलेर यात्रा तय गर्ने थोरै हुन्छन् । अझै चुचुरोमा फर्किने सौभाग्य केहीलाई मात्र मिल्छ ।


यस्तै चुचुरोमा पुगेर फर्किने मध्येका  एक हुन करुणा अस्पतालका सञ्चालक डा.रामुकमार श्रेष्‍ठ । सगरमाथाको शिखरमा पुग्नुमात्र उनी सफलता मान्दैनन् । ' चुचुरोमा पुग्नु दुर्घटना वा संयोग मात्र हुन सक्छ,' उनले भने ,' चुचुरोबाट जब सकुशल तल झरिन्छ त्यसपछि मात्र चुचुरोमा पुगेको सार्थकता मान्न सकिन्छ ।' 

सगरमाथाको चुचुरोमा पुगेर फर्केका डा. श्रेष्‍ठको यात्रा गत चैत अन्तिम साताबाट सुरु भएको थियो । आफ्नै अस्पतालमा नियमित बिरामीको स्वास्थ्य परीक्षणलाई थाँती राख्दै  काठमाडौँ छाड्दै सगरमाथाको उकालोतर्फ लागे ।

गत वर्ष सगरमाथा चढ्ने योजना बनाए पनि जान नसकेको उनले बताए । बिरामीको अवस्था कस्तो छ भनेर सोध्ने उनी साथीको संगतले यसपटक हिउँ छाम्न पुगे। पर्वतारोही साथीहरूसँग बढी घुलमिल हुन थालेपछि उनलाई सगरमाथा चढ्ने रहर पलायो ।

'डेढ वर्षअघि प्रसिद्ध आरोही निङमा डेबिड र निङमा जी शेर्पासँग चिनजान भएपछि हिमाल चढ्ने रहर पलाउँदै गएको थियो,' उनले इकागजसँग भने,' साथीहरूको हौसला र आँटले सगरमाथा चढ्ने साहस पलायो ।'

आफैंलाई दुःख दिन साहस चाहिन्छ

केही वर्षअघि सगरमाथामा अस्पतालको नाममा झण्डा फहराएपछि उनमा चुचुरोमा पुग्न हुटहुटी जागेको थियो ।  उनलाई इगोले पनि सगरमाथा चढ्ने बनायो । साथीहरूले त सक्दैनस् लेक लाग्छ भन्थे । उनले साहस बटुलेर चढेरै छाड्ने निधो गरे ।

सफल न्युरो सर्जन भएकै कारण उनीसँग सधैँभरी साहस हुनेनै भयो । 'बिरामीको चिरफार गर्न पनि साहस चाहिन्छ,' उनले भने,' अरू र आफैंलाई दुःख दिनका लागि पनि साहस चाहिन्छ ।' उनले  शल्यक्रिया गर्दा कतिपय बिरामीलाई दुख्थ्यो ।  उद्यम गर्दा रिस्क राखेर काम गर्नुपर्ने भएकाले पनि सगरमाथा उक्लन साहस बटुल्न सफल भएको उनी बताउँछन् ।

काठमाडौँ छाडेको एक महिनामा बेस क्याम्पमा उनीसहितका ११ आरोही र शेर्पासहित २६ जना पुगे । बेस क्याम्पबाट उकालो लाग्न थालेपछि उनलाई असहज भयो । 'शरीरमा अक्सिजन कम र हावा नचल्दा गाह्रो हुने गरेको थियो,' उनले क्याम्पबाट उकालो लागेपछि अनुभव हाँस्दै भन्छन्,' सगरमाथा चढ्न ३० देखि ३२ लाख रुपैयाँ खर्च भयो र त्यो पैसा पनि ऋण लिएर गएको हुँ ।'

आरोहीहरू श्वास लिनका लागि तड्पिरहेको जस्तो लाग्थ्यो उनलाई । 'कसरी श्वास लिन सकिन्छ त्यसमा ध्यान जान्थ्यो,' उनी भन्छन् । शेर्पाबीनाको सगरमाथा आरोहण सफल बन्न एकदम गाह्रो हुने उनको बुझाइ छ ।

उनलाई लोबुचे पुग्दा सगरमाथा पुग्न नसक्ने जस्तो लाग्थ्यो । बेस क्याम्प पुग्न लाग्दा डा.श्रेष्ठ नर्भस भइ केही दिन आत्तिए । अन्तिम-अन्तिम समयमा बिरामी भएर सगरमाथा पुग्न सकिन्न र आफ्नो उद्देश्य पूरा नहोला भन्ने त्रासले सताएको थियो ।

बाटोमा गाह्रो हुँदा साथीहरूको साहसले थप बल पुर्‍यायो । उनी जति-जति उकालो लाग्थे मुटुको धडकन बढ्थ्यो । उचाइ बढेसँगै 'हाइ अल्टीच्युड' का कारण गाह्रो हुन्थ्यो ।

अस्पतालबाट सबै बिरामी मुस्कानसहित फर्किउन

'सरकारी अस्पतालमा सबै बिरामीलाई निशुल्क उपचार हुनुपर्छ । उपचार नपाएर धेरै मृत्युको मुखमा पुगिरहेका छन् । शुल्क लिएर उपचार गर्नका लागि प्रशस्तै निजी अस्पताल छन्,' सगरमाथा चढनुको मुख्य उद्देश्य सुनाउँदै श्रेष्ठले भने,' जसरी सरकारी विद्यालयमा थोरै शुल्क लिए पनि निशुल्क पढाइन्छ । त्यसरी नै सरकारी अस्पतालले सबै बिरामीको निःशुल्क उपचार  गर्नुपर्छ ।'

श्रेष्‍ठ देशैभरका बिरामीले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउनुपर्छ भन्दै गत २ गते सगरमाथाको चुचुरोमा पुगे । चुचुरोमा उनी करिब एक घण्टा मात्र बसे । चुचुरोमा पुगेपछि सबैलाई सम्झेर प्राथना गरे । उनी भन्छन्,' विश्वभरका बिरामीहरू निको होउन् । अस्पतालमा भएका बिरामीहरू मुस्कानसहित घर फर्किउन् ।'

अग्लो ठाउँमा स्वर्ग हुन्छ भन्ने सुनेकाले डा. श्रेष्ठले स्वर्ग पुगेको अनुभूती गरे । विश्‍वकै सबैभन्दा अग्लो ठाउँमा पुगेकाले मनोकाङ्क्षा पूरा हुन्छ भनेर प्राथना गरेको उनी सुनाउँछन् । 'आफूले जानेर वा नजानेर गल्ती गरेको भए माफी मागे,' उनले भने ।

शिखरमा केही समय रहँदा आफूलाई चिन्न सकेको श्रेष्‍ठले ठम्याए। मानिसको मानवीय संवेदना केही पनि नियन्त्रणमा नहुने उनको ठहर छ ।' मेरो साहसले पाइला चल्यो तर, सगरमाथाको दयाँमायाले मात्र पुग्न सकेको हुँ,' पुग्दाको क्षण सम्झदै भन्छन्,' हिमपहिरो पनि जान सक्थ्यो तर सगरमाथाको मायाले बाँच्न सफल भएँ ।' सगरमाथा पुगेपछि आफूलाई नरम बनेको उनी ठान्छन् । न्युरो सर्जन डाक्टर हुँ भन्ने अहमता पालेका उनी सगरमाथाको हिउँ जस्तै नरम बनेको बताउँछन्। 

हिमालमा फोहोर थुप्रिने समाचार पनि पढेका थिए उनले । पहिलोपटक बेस क्याम्प पुगेको र सगरमाथाको बाटोमा उनले फोहोर देखेनन् । क्याम्पमा बसेका आरोहीले पनि फोहोर सफा गर्ने उनले देखे । ' केही ठाउँमा नेपाली सेनाले फोहोर सफा गरिरहेका थिएँ उनले भने ।  

४० वर्षीय डा. श्रेष्ठ बुढानिलकण्ठ नगरपालिका १३ का रैथाने हुन् । उनी आफू बसोबास गर्ने क्षेत्रलाई विगतमा 'काठमाडौँको कर्णाली' भन्ने गरेको कथन सुनाउँछन् । सुविधाका दृष्‍टिकोणले कपन पछाडि परेको थियो । 'यातायातका साधनहरू सहजै पाइदैन थियो,' आफ्नो टोलको दुःख स-बिस्तार लगाउँदै भन्छन्,' सानैदेखि सामाजिक काममा सक्रिय थिए । स्ट्रेचर नहुँदा तन्नामा बिरामी बोकेर लगेका थियौ ।'

समुदायको सेवाका लागि डाक्टर बने

'समूदाय र अभिभावकका लागि डाक्टरी पढेको हुँ,' उनी बाल्यकालीन सम्झँदै भन्छन्,' टोलका मानिसहरूले मलाई सानोमा अण्डा खुवाउँथे । ठूलो भएपछि हामीलाई सेवा गर्नु भन्थे ।'

स्थानीय मानिसको सेवा गर्न अस्पताल स्थापना गरेको उनी बताउँछन् । दुई वर्ष अघि उनले करुणा अस्पताल स्थापना गरे । अस्पताल खोल्नु अघि माल्दिभ्समा १ वर्ष, ओम अस्पतालमा ६, हेल्पिङ ह्यान्डसमा ६ महिना र अल्का अस्पतालमा ६ महिना काम गरेका थिए उनले । 

स्थानीयको आशीर्वादले चिकित्सक बनेको उनी मान्छन् । श्रेष्ठ मध्यम वर्गीय परिवारमा हुर्केका हुन् । घरका जेठा छोरा भएकाले पिताको माया पाएका थिए उनले । उनको पढाइप्रति चीन पढन जाँदाको बाबाले मेहनत गरेको विगत सम्झँदै भन्छन्,' मेरो लागि डाक्टरी पढन बाबाले ६ लाख बचत गरेर राख्नु भएको थियो । थप पैसा नपुग्दा ८ लाख जग्गा बिक्री गरेर चीन पढन पठाउनु भएको थियो ।'

उनले न्युरो सर्जन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, जेनरल सर्जरी भैरहवा मेडिकल कलेज र एमबीबीएसको चीनको छेन्दुबाट पास गरेका हुन् । सर्जरी सन् २०१३ र सर्जन २०१६ मा गरेको उनले बताए ।

उनी हाल बहिनीले डिजाइन गरेको अस्पतालको सञ्चालक छन् । भाइ एमबीए गरेका, श्रीमती शोभा मेडिकल इन्चार्ज  र उनी दुई छोरीको अभिभावक पनि हुन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x