खाडी

श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री अवारबीच भेटवार्ता

इकागज |
कात्तिक १०, २०७८ बुधवार २१:१२ बजे

काठमाडौँ - संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ । 

भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरेका छन् ।  सो क्रममा नेपाल–युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा छलफल भएको छ । 


यसैबीच आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागि नेपाली टोलीले आवुधाबीमा अन्य कुटनीतिक भेटघाट समेत गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

कतारसँगको सचिवस्तरीय वैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्वर ८ र ९ मा हुने संयुक्त वैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको बिषयमा छलफल भयो । 

साउदी अरेवियासँगको सचिवस्तरीय वैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने बिषयका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको बिषयमा छलफल भएको छ ।

मलेसियासँगको सचिवस्तरीय वैठकमा संयुक्त समितिको वैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण र रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजिकरण गर्ने बिषयमा छलफल भएको वैठकमा सहभागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसालले बताए ।

यस्तै श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधाबी डायलगमा आप्रवासी कामदारको विषयमा अनुसन्धनात्मक प्रतिवेदन प्रस्तुत गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसालले रिसर्च अर्वाड प्राप्त गरेका छन् ।


Author

थप समाचार
x