सरकार

राष्ट्रिय सभा निर्वाचन: आजै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

इकागज |
माघ १२, २०७८ बुधबार ८:३२ बजे

काठमाडौं - राष्ट्रिय सभा सदस्‍यका १९ पदका लागि आज हुने निर्वाचनको परिणाम आजै रातिसम्‍म सार्वजनिक हुने भएको छ । मतदान सकिएलगत्तै आजै मतगणना हुने र राति अबेरसम्‍म मत परिणाम सार्वजनिक हुने सम्भावना रहेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले अबेर रातिसम्म मतपरिणाम सार्वजनिक हुने सम्भावना रहेको बताए । 'बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्‍म मतदान हुन्‍छ । मतदान सकिएलगत्तै केही प्रक्रिया पुर्‍याएर मतगणना सुरु हुन्छ,' इकागजसँग पौडेलले भने, 'कुनै बाधा आएन भने आजै रातिसम्म मतपरिणाम सार्वजनिक हुने सम्भावना छ ।'


सात वटै प्रदेशमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुन लागेको हो । 

जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ । 

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न आउने जनप्रतिनिधिले नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा निर्वाचित भएको प्रमाणपत्र लिएर आउनु पर्छ ।राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यसँगै  स्थानीय तहका प्रमुख/उपप्रमुखले भाग लिन पाउँछन् । राष्ट्रिय सभामा १९ सदस्यका लागि भइरहेको निर्वाचनमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । राप्रपाले प्रदेश १ बाहेकमा मतदान नगर्ने भएको छ ।  


Author

थप समाचार
x