सरकार

मोबाइल फोनको सेकेण्ड ह्याण्ड कारोबारलाई ब्यवस्थित गर्नुपर्छ : गृहमन्त्री लेखक

इकागज |
भदौ २८, २०८१ शुक्रबार २०:३ बजे

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मोबाइल फोनको दोस्रो कारोबार (सेकेण्ड ह्याण्ड बिक्री) लाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन ।

शुक्रबार नेपाल मोबाइल व्यवसायी महासंघले `सेकेण्ड ह्याण्ड´ मोबाइलको कारोबार बैध नहुँदा किनबेचमा समस्या भएको र मोबाइल मर्मतका क्रममासमेत प्रहरी प्रशासनबाट झमेला व्यहोर्नु परेको भन्दै गृहमन्त्री लेखकलाई चार बुँदे ज्ञापनपत्र बुझाएका हुन ।


सो क्रममा गृहमन्त्री लेखकले सेकेण्ड ह्यान्ड फोनको बिक्री वितरण ब्यवस्थित गर्न आवश्यक सहयोग हुने बताए।

`सेकेण्ड ह्याण्ड मोबाइलको बिक्री बितरण ब्यवस्थित गर्नु पर्छ, बिदेशमा यही प्रक्रियाबाट फोन किनबेच हुने गरेको हामीले देखेका छौं, आवश्यक समन्वय गरेर यसलाई अगाडी बढाउन गृहमन्त्रालयको सहयोग रहन्छ,´ गृहमन्त्री लेखकले भने।

महासंघका अध्यक्ष भरत भट्टराईको नेतृत्वमा सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको गृहमन्त्री लेखकसँगको भेटमा महासंघकातर्फबाट गएको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाउँदै व्यवसायीलाई अनावश्यक झमेलाबाट मुक्त गर्ने गरी नीति बनाइदिनसमेत आग्रह गरेको छ ।

अध्यक्ष भट्टराईले मोबाइल लक अनलक तथा मर्मतका क्रममा प्रहरी प्रशासनबाट व्यवसायीहरुले अनावश्यक झमेला व्यहोर्दै आएको र व्यवसायीहरू बिनाकारण प्रहरीको निशानामा पर्ने गरेको बताए ।

‘बिग्रेका मोबाइल फोनहरु मर्मतका लागि मोबाइल व्यवसायीकहाँ आइपुग्छ, तर फोन कुन व्यक्ति र कस्तो व्यक्तिको हो भन्ने व्यवसायीलाई जानकारी हुँदैन, फोन बनाएर चेक गर्दा चोरीका फोन भएको अवस्थामा व्यवसायीहरु प्रहरी प्रशासनको झमेलामा पर्छन्, कति व्यवसायी त पक्राउ नै पर्छन्, यसमा हामीले आवश्यक नीति बनाइदिन गृहमन्त्रीज्यूलाई आग्रह गरेका छौं,’ महासंघका अध्यक्ष भट्टराईले भने ।

गृहमन्त्रीसँगको भेटका क्रममा महासंघले सेकेण्ड ह्याण्ड मोबाइलको वैधानिक कारोबारका लागि सरकारलाई आवश्यक नीति बनाउन सुझाएको उपाध्यक्ष रमेश घिमिरेले जानकारी दिए ।

 हाल अवैध रुपमा सेकेण्ड ह्याण्ड मोबाइलको कारोबार भइरहेको भन्दै महासंघले सरकारलाई निश्चित रकम राजश्व खातामा जम्मा हुने गरी सेकेण्ड ह्याण्ड कारोबारलाई बैध बनाउँदा देशको राजश्वमा ठूलो रकम जम्मा हुने र त्यसले केही रकम भएपनि देशबाट बाहिर जान रोकिने महासचिव सन्तोष घिमिरेले जानकारी दिए ।

 यसैगरी महासंघले मोबाइल विक्रीमार्फत व्यवसायीहरुले प्राप्त गर्ने मार्जीन अत्यन्त न्यून रहेको भन्दै सरकारले व्यवसाय र व्यवसायी दुबैलाई जोगाउन समयानुकुल मार्जीन निर्धारण गर्नु पर्ने बताएको छ ।

त्यसो हुँदा व्यवसायलाई दिगो बनाउन सहज हुने र व्यवसायी पलायन हुनबाटसमेत रोकिने महासंघले भनेको छ । सरकारले कुनै पनि व्यवसाय प्रवर्दनका लागि लिने गरेको नीतिमा मोबाइल व्यवसायीलाईसमेत जोड्न महासंघले गृहमन्त्रीमार्फत सरकारसँग आग्रह गरेको छ ।


Author

थप समाचार
x