सरकार

प्रधानमन्त्रीको भारत भ्रमण

भारत भ्रमणमा प्रचण्डको मन्दिर कूटनीति

इकागज |
जेठ १४, २०८० आइतबार १२:२० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो विदेश भ्रमणमा भारत जाँदैछन् । उनी चार दिने भ्रमणका क्रममा मे ३१ मा नयाँ दिल्ली पुग्नेछन् । यसै क्रममा नेपाली प्रधानमन्त्रीले उज्जैनस्थित महाकाल मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष हुन् । प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्री भएपछि भारत भ्रमणको निम्तो दिएका थिए ।

प्रचण्डले सन् २०२२ को डिसेम्बरमा नेपालको प्रधानमन्त्रीका रूपमा सपथ लिएका थिए । नेपालका प्रधानमन्त्रीले अरु देशभन्दा पहिला भारत भ्रमण गर्ने परम्परा रहे पनि यो पटक भारतले ढिला मात्र चासो देखाएको भारतीय मिडिया नवभारत टाइम्सले लेखेको छ । यसले नेपाललाई चीनसँग नजिक्याउला कि भन्‍ने चिन्ताका बीच भारतले आफ्ना विदेश सचिव विनय मोहन क्वात्रालाई नेपाल पठाएर प्रचण्डलाई भारत निम्त्याउने तयारी सुरु गरेको थियो । यही क्रममा उनले प्रचण्डले महाकालेश्वर मन्दिरको दर्शन गर्न लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 


भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले दिल्लीमा प्रधानमन्त्री मोदीसँग महत्वपूर्ण वार्ता गर्नेछन् । यसका साथै प्रचण्डले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक र धार्मिक सम्बन्धको प्रतीक मध्य प्रदेशको उज्जैनको पनि विशेष भ्रमण गर्ने कार्यतालिका रहेको छ । यस अवधिमा उनले भगवान शिवको प्रतिमा रहेको महाकालेश्वर मन्दिरको पनि दर्शन गर्नेछन् । यो मन्दिर भगवान शिवका बाह्र ज्योतिर्लिङ्ग मध्ये एक हो ।

प्रचण्डको उज्जैन भ्रमणले नेपाल र भारतबीचको आध्यात्मिक सम्बन्धलाई पनि जोड दिनेछ । यसबाहेक प्रचण्डले भारतको सबैभन्दा सफा सहर इन्दौरको पनि भ्रमण गर्ने र फोहोर व्यवस्थापनका उपायहरू सिक्ने बताइएको छ । केन्द्र सरकारको वार्षिक सरसफाई सर्वेक्षण अनुसार इन्दौर लगातार ६ वर्षदेखि भारतको सबैभन्दा स्वच्छ सहर घोषित हुँदै आएको छ ।

पहिलो विदेश भ्रमण चीन जाँदा भारतले जनाएको थियो असन्तुष्टि
प्रचण्ड पहिलो पटक २०६५ सालमा प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेपछि प्रचण्डले पहिलो विदेश भ्रमण चीन रोजे । पहिलो भ्रमण चीन गरेपछि प्रचण्डप्रति भारतले असन्तुष्टि जनायो । भारतको असन्तुष्टिपछि प्रचण्डले भनेका थिए 'चीन भ्रमण अनौपचारिक हो, औपचारिक भ्रमण भारत हुन्छ ।' चीन भ्रमणबाट फर्किएपछि प्रचण्ड नेतृत्वको सरकार धेरै समय टिकेन । प्रचण्ड नेतृत्वको सरकार ९ महिनापछि रुक्माङ्गत कटुवाल प्रकरण ढल्यो । सरकार ढलेपछि प्रचण्डले भनेका थिए 'कुर्सीका लागि विदेशी प्रभु सामु झुक्ने छैन ।' 

त्यसपछि दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले जोखिम मोलेनन् । उनले पहिलो विदेश भ्रमण भारत नै गरे । यो पटक पन प्रचण्डको पहिलो विदेश भ्रमण भारत नै हुँदैछ ।

मोदी नेपाल आउँदा पनि धाउँछन् लुम्बिनीदेखि पशुपतिसम्म
भारत-नेपालमा मन्दिर कूटनीति पुरानो हो । मोदी प्रधानमन्त्री भएपछि भारत र नेपालमा मन्दिर कूटनीतिमा निकै उछाल आएको छ । २०१८ मा मोदी आफ्नो काठमाडौँ भ्रमणको क्रममा पशुपतिनाथ मन्दिर पुगेका थिए । त्यसपछि उनले जनकपुरको जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । मोदीले यही साल मनाङको मुक्तिनाथ मन्दिरको पनि दर्शन गरेका थिए । पछि मोदीले लुम्बिनीमा पनि पूजा अर्चना गरेका थिए ।

यसपछि २०२२ अप्रिलमा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणका क्रममा वाराणसीको काशी विश्वनाथ मन्दिर र काशीको कोतवाल नामले परिचित कालभैरव मन्दिरको दर्शन गरेका थिए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि त्यही मन्दिर कूटनीतिलाई अगाडि बढाएको देखिन्छ ।

प्रचण्डले राष्ट्रपति मुर्मुलाई पनि भेट्ने छन् । प्रचण्डसँगै उनकी छोरी गंगा दाहाल भारत भ्रमण जाने सूचीमा छिन्  । त्यस क्रममा प्रचण्डले मन्त्री, सचिव र उच्च सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रचण्डले मोदीसँग जुन १ मा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने विज्ञप्तिमा उल्लेख छ । सोही अनुसार वार्तापछि दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन हुनेछ । मोदीले आफ्ना नेपाली समकक्षी र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने बताइएको छ ।

नेपालको प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । यो भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने छ । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा प्रचण्डले भारतमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नेछन् ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो भ्रमणले हाम्रो छिमेकी पहिलो नीतिलाई अगाडि बढाउँदै भारत र नेपालबीच नियमित विचार आदानप्रदान गर्ने परम्परालाई निरन्तरता दिएको बताएको छ । दुई देशबीचको द्विपक्षीय सम्बन्ध विगत केही वर्षमा सबै क्षेत्रमा सहयोगात्मक रूपमा बलियो भएको विज्ञप्तिमा उल्लेख छ । भ्रमणले द्विपक्षीय साझेदारीलाई थप गति दिने अपेक्षा गरिएको छ ।

 


Author

थप समाचार
x