सरकार

निर्वाचनका क्रममा मृत्यु भएका सुरक्षाकर्मी र सर्वसाधारणलाई सरकारले राहत दिने

इकागज |
मंसिर १५, २०७९ बिहीबार २१:२० बजे

फाइल फोटो

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत भएका सुरक्षाकर्मी र नागरिकका परिवारलाई नेपाल सरकारले राहत उपलब्ध गराउने बताएका छन् । 

केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकमा उनले सम्बन्धित सबैको अपूर्व योगदानले नै निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै निर्वाचनले संविधानलाई बल पुर्‍याएको बताए । आवधिक निर्वाचन लोतकन्त्रको सबल र सुन्दर पक्ष भएको बताउँदै मन्त्री खाणले यस दायित्वलाई नेपाल सरकारले पूरा गरेको अवगत गराए । 


यो दायित्व पूरा गर्ने सबैलाई धन्यवाद दिँदै उनले कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत भएका सुरक्षाकर्मी र नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवार भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने जानकारी दिए । 

निर्वाचनका क्रममा भएका राम्रा पक्षलाई आगामी दिनमा अवलम्बन गरिँदै जाने र कमी–कमजोरीलाई सुधार्दै लैजाने उल्लेख गर्दै मन्त्री खाणले सीमित स्रोत साधन बाबजुद सुरक्षाकर्मीले अहोरात्र खटिई कर्तव्य पूरा गरेकामा विशेष धन्यवाद दिए । निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले निर्माण गर्ने नयाँ सरकार जनताको इच्छा आकांक्षा पूरा गर्ने काममा अघि बढ्ने उनको विश्वास थियो । रासस


Author

थप समाचार
x