सरकार

शेरबहादुर कुँवर : मालेबाट राजनीतिमा, एमालेमा योगदान, समाजवादीबाट मन्त्री

इकागज |
असार १३, २०७९ सोमबार १०:२७ बजे

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्री फेरबदल भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्री नियुक्त गरेकी हुन् । उनीहरूको आज शपथ हुँदै छ ।   

जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।


नवनियुक्त मन्त्रीमध्ये श्रममन्त्री शेर बहादुर कुँवर अछामबाट लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय नेता हुन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, संगठन विभाग सदस्यका साथै सुदूरपश्चिम  प्रदेश कमिटी उपाध्यक्ष रहेका मन्त्री कुँवर अछामको चौरपाटी गाउँ पालिका-४  साविक पायल गाविस-५ मा स्व. कर्ण सिंह कुँवर र बसुन्धरा कुँवरको कान्छो सन्तानको रूपमा २०२३ साल भाद्र ६ गते जन्मिएका हुन् । 

२०६४ मा भीम रावलले समानुपातिकबाट सिट सुरक्षित गर्दा उनी प्रत्यक्षबाट  चुनाव लडेर निर्वाचित भएका थिए।

पाँच दाजुभाइ र तीन दिदीमध्ये कान्छो सन्तानका रूपमा जन्मेका कुँवरले २०५२ साल माघ ११ गते अनेरास्ववियु अछामका महिला नेत्री धुर्बा खड्कासँग विवाह गरेका थिए । धुर्बा हाल समाजवादीको सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य छिन् । कुँवरका एक छोरी र एक छोरा छन् । 

मन्त्री कुँवर यसअघि राष्ट्रियसभाका सदस्य थिए । उनको चार वर्षे कार्यकाल गत वर्ष २० फागुनमा सकिएको थियो । उनी गैरसांसद मन्त्री हुन् । त्यसअघि उनी एकीकृत समाजवादीको राष्ट्रियसभा तर्फका प्रमुख सचेतक समेत थिए ।
 
महेन्द्र मोरङ क्याम्पस बिराटनगर अध्यन गर्ने क्रममा कुँवर २०३८ सालदेखि नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भएर सक्रिय राजनीतिमा लागेका थिए । विराटनगरबाट काठमाडौ आएर शंकरदेव क्याम्पसमा बिकम भर्ना भएका थिए । 

विधार्थी संगठनमार्फत राजधानीमा प्रत्यक्ष राजनीतिमा सक्रिय कुँवर २०४६ सालको जनआन्दोलनमा परिचालन एक्सन कमिटीमा रहेर काम गर्दा पटक-पटक गिरफ्तार परेका थिए । 

केन्द्रीय राजनीतिबाट गृह जिल्ला अछाम फर्केपछि ०४७ साल अछाममा अनेरास्ववियुको दोस्रो  जिल्ला अधिवेशनबाट कुँवर कमिटीको अध्यक्ष बन्न सफल भएका थिए । ०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेका कुँवर २०४९ को स्थानीय तहको निर्वाचनमा  जिल्ला विकास समिति अछामको उपसभापतिको पदमा निर्वाचन लडेका थिए । मन्त्री कुँवरले तीन पटकसम्म एमाले अछामको नेतृत्व गरेका थिए ।  

अछाममा नेकपा एमालेको कुशल सङ्गठन निर्माताका रूपमा चिरपरिचित मन्त्री कुँवर र एमालेका पूर्व उपाध्यक्ष भीम रावलको एउटै निर्वाचन क्षेत्र नम्बर १ पर्दछ । सं‌टकालको बेला अछाम जिल्लाको सदरमुकाम मंगलसैनमा रहेर राजनीतिक तथा सामाजिक नेतृत्व दिएर तत्कालीन पार्टी एमालेको संगठनलाई  जोगाएका कुँवरले देशैभर एमाले ओरालो लागेको समयमा  विसं २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए । त्यसबेला भीम रावल समानुपातिकबाट सांसद चुनिएका थिए । मन्त्री कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थिए । 

कलिलो उमेरमै वाम राजनीतिबाट प्रभावित कुँवर निष्ठाको राजनीतिमा विश्वास गर्ने बताउँछन् । विचारमा दृढता र व्यवहारमा लचिलो हुने कुरालाई जोड दिदै आएका कुँवरले राजनीति पेशा नभएर समाजसेवा भएको बताउँछन् । 


Author

थप समाचार
x