गसिप

हमाललाई अमेरिकी चुनावमा के को चासो ?

इकागज |
कात्तिक १४, २०७७ शुक्रबार १२:२ बजे

काठमाडौं : अभिनेता राजेश हमालमाथि सदाबहार लाग्ने आरोप छ, देशका जल्दाबल्दा मुद्दामा चुँसम्म नी गर्दैनन् । जसले उनलाई ‘महानायक’ मानेर आँखामा राख्ने गरेका छन् तिनको भलाइका लागि पनि केही गर्दैनन् । उनीहरूका लागि न बोल्छन् न केही गर्छन् । हमाललाई यो उचाइमा पु-याउने फिल्म क्षेत्रलाई पनि उनले गर्ने व्यवहार उस्तै छ । न दुःखमा सहानुभूति दिन्छन्, न पीडामा मल्हम लगाउन अघि सर्छन् ।

कोभिडका–१९ कारण  फिल्म क्षेत्र ६÷७ महिनायता ठप्प छ । फिल्ममा नै आश्रित कलाकार र प्राविधिकको कन्तबिजोग छ । भर्खर संघर्ष गरिरहेका कलाकारले सकेको सहयोग गरे । थुप्रै प्राविधिकले राहत पाए । तर, यस्तो कठिन समयमा पनि राजेश हमालले मुठ्ठी खोलेनन् । आलोचना चुलियो । बाध्य भएर हमाल प्राविधिकलाई सहयोग गर्न तयार भए । ५ हजारको दरले सय हाराहारी प्राविधिकलाई नगद पनि बाँडे । तर, ठाउँको ठाउँ पोल खुल्यो उनले जेजति रकम बाँडे त्यसमा उनको गोजीबाट सुको पनि परेन । उनले सहयोग गरे, भनेको पैसा अरुले नै पठाइदिएका रहेछन् ।  


यस्ता थुप्रै दृष्टान्त छन् जहाँ हमालले गर्नुपर्ने ठाउँमा पनि मुन्टो बटारेका छन् । बोल्नु पर्ने ठाउँमा चुप्प लागेर बसेका छन् । तर, उनलाई मंगलबार साँझ के झोक चल्यो कुन्नी, उनले अमेरिकाको चुनावका चिन्ता गरे । रातको समयमा फेसबुक लाइभमा उनले अमेरिकी  चुनावको खुब चिन्ता गरे । अमेरिकी नेतृत्व कस्तो हुनुपर्ने भनेर सुझाव पनि दिए । 

अमेरिकामा जोसुकै राष्ट्रपति आओस् ? धेरै नेपालीलाई चासो पनि छैन र चिन्ता पनि । हमाल चासो भएको कुरामा चैं चुइँक्क पनि नबोल्ने अनि धेरै नेपालीलाई मतलबै नभएको अमेरिकी राष्ट्रपतिको चुनावमा चैं विद्धता छाँट्ने ? यसैगरि, देशकै जल्दाबल्दा मुद्दामा पनि त बोले हुने नी ! 


Author

थप समाचार
x