गसिप

सलमानको बर्थडेमा सुष्माको चुरीफुरी : जाँतोलाई भन्दा हाताेलाई खसखस

इकागज |
पुस १३, २०७७ सोमबार १४:४ बजे

काठमाडौं :  ५५ वर्ष लागेका सलमान खानले जन्मदिन मनाउन भेला हुने फ्यानलाई यो साल भिड नगर्न आग्रह गरे । सदा सलमानको घरअघि जम्मा भएर सलमानलाई जन्मदिनको शुभकामना दिने फ्यान यो साल उनले भनेको मानेर खुरुक्क घरमै बसे । सलमानले महामारीका कारण जन्मदिन नै नमनाउन पनि आग्रह गरेका थिए । तर, समाचार नपढेरै होला हाम्री अभिनेत्री सुष्मा कार्कीले सलमानको त्यो आग्रह चाल पाएको देखिएन ।

बरु उनले सामान्य अवस्थामा जस्तै धुमधामसित आइतबार जन्मदिन मनाइन् । दरबारमार्गको किंग्स लाउन्जमा सलमानको नाममा केक काटियो । सुष्माले भान्से भएर भुवन केसी, प्रशान्त ताम्राकार जस्ता सेलिब्रेटीलाई केक बाँडिन् । यतिले नपुगेर उनले सलमानको बारेमा केही युट्युबरलाई आफू र सलमानको भेटको बारेमा गफ पनि दिइन् । 


दुई वर्षअघि सुष्माले लन्डनमा सलमानलाई भेटेकी थिइन् । कुनै स्पेसल ठाउँमा होइन ,बाटोमा । यो कुरा सुष्मा स्वयंले राख्दै गरेको तस्बिरले बताउँछ । सलमानको काँधमा टाउको अड्याएर फोटो खिचेकी सुष्माले त्यही फोटो सलमानसँग निकट सम्बन्धको ‘कार्ड’को रुपमा प्रयोग गर्दै आइरहेकी छिन् । तर, उनले गफ दिँदा सलमानसँग आफूले २० मिनेट कुराकानी गरेको गफ दिने गरेकी छिन् । तर, के कुरा भयो भनेर सोध्यो भने, उनीसँग बताउने दुइटा कुरा पनि हुन्नन् । 

उनको गफको पोल उनले हालेको फोटोले पनि खोल्छ । दुई वर्ष भयो उनले सलमानको जन्मदिनमा एउटै फोटो पोस्ट गर्ने गरेको । बीस मिनेट गफ गरेको हो भने सुष्माले जम्मा एउटै मात्र फोटो खिचिन् होला त ? कुरो यहाँ पनि मिल्दैन ।पहिलो त महामारीको समयमा भिडभाड गरेर जन्मदिन मनाउने कुरा नै पाच्य छैन । झन् त्यसमाथि बलिउड हिरोको ।

त्यो पनि नेपाली कलाकारले । एकातिर हिन्दी फिल्मले नेपाली फिल्म उठ्न दिएन भन्ने अनि अर्कोतिर तिनै बलिउडको हिरोको जन्मदिन धुमधामसँग मनाउने ? उता सलमानले सुष्मालाई चिन्ने पनि होइन । तर, सुष्माको चुरीफरी भने यस्तो कि, ‘जाँतोलाई भन्दा हातोलाई खसखस’ भन्ने खस ठ्याक्कै याद दिलाउने ।


Author

थप समाचार
x