गसिप

केकी स्टाइल:  घोषणा गर्दै थुपार्दै

इकागज |
मंसिर २८, २०७७ आइतबार १६:१९ बजे

काठमाडौं: १० वर्षपछि बल्ल केकी अधिकारीका दिन फर्किएका छन् । गत साल उनले करिअरको पहिलो हिट दिइन्, ‘छ माया छपक्कै’को रुपमा । भलै त्यसको एकल क्रेडिट उनले पाइनन् त्यो बेग्लै कुरा हो । उनको अतिथि जस्तो भूमिका रहेको ‘नाइँ नभन्नू ल ५’ हिट त हिट नै भएको थियो । तर यसमा पनि उनलाई कसैले नोटिश गरेका थिएनन् ।

तर, त्योभन्दा अगाडि भने उनका फिल्म आउने, उनको अभिनयको तारिफ पनि हुने तर दर्शक नआउने समस्या थियो । तर, गत सालबाट उनको त्यो इतिहास फेरियो । उनी अभिनित फिल्म सुपरहिट मात्र भएन, उनले निर्माण गरेको टेलिभिजन सो ‘कमेडी च्याम्पियन’ले राम्रै हल्लाखल्ला गर्यो । यसले केकीको आत्मविश्वास यति बढाएछ कि आजभोलि हरेक हप्ता उनले केही न केही घोषणा गरिरहेकी छिन् । 


‘कमेडी च्याम्पियन’को दोस्रो भाग त भइहाल्यो उनले यसैसालबाट बच्चाहरूको नृत्य प्रतियोगिता ‘डान्स मास्टर’ पनि सुरु गर्ने घोषणा गरिन् । यसको ठिक एक हप्ताअघि उनले मण्डला नाटकघरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई सिनेमाको पर्दामा उतार्ने घोषणा गरेकी थिइन् । सरिता गिरीको एकल अभिनय रहेको सो नाटकमा सरिताले गरेको भूमिका अब केकीले गर्नेछिन् ।

यतिले नपुगेर यो हप्ता फेरि उनले फेरि निराजन प्रधानको अपोजिटमा आफू रहने गरी ‘कहानी तिम्रो मेरो’ घोषणा गरिन् जसलाई उनले ‘कोहलपुर एक्सप्रेस’को टिमसँग मिलेर निर्माण गर्नेछिन् । एक त महामारी सकिएको छैन । सुटिङ गर्नलाई न सरकारले खुलेर स्वीकृति दिएको छ न लोकेसन नै पाइन्छ । तैपनि हप्तैपिच्छे नयाँ नयाँ घोषणा । एउटा सकेर अर्को थाल्दा राम्रै हुन्थ्यो होला । घोषणा गरेर थुपार्ने केकीलाई के रहर लाग्या होला ?
 


Author

थप समाचार
x