सुशासन

दुई–चार दिने सचिव बनाउन मन्त्रिपरिषदमा मरिहत्ते

प्रधानमन्त्री कार्यालयमा कार्यालय सहायकभन्दा सचिव धेरै

पुष्पराज आचार्य |
माघ ३, २०७८ सोमबार १३:१० बजे

काठमाडौँ– मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकले माघ ४ मा सेवा निवृत्त हुन लागेका लोकसेवा आयोगका सहसचिव शंकरप्रसाद खराललाई बढुवा गर्ने निर्णय गर्‍यो । चार दिनका लागि मात्रै सचिव बढुवा भएपनि खरालले पूर्वसचिवको सामाजिक प्रतिष्ठा प्राप्त गर्नेछन् भने उनको पेन्सनपट्टा सचिवबाट सेवा निवृत्त भएको बन्नेछ ।

यद्यपि, दुई–चार दिन सेवा अवधि बाँकी रहेकालाई बढुवा गरेर पदस्थापन गर्न, उसले कार्यभार सम्हाल्न नपाउँदै सेवा निवृत्त हुने हुँदा यसरी गरिने बढुवाको औचित्य पुष्टी गर्न गाह्रो हुन्छ । यद्यपि खराल मात्र छोटो अवधिका लागि बढुवा भएका होइनन् । हालै राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्त भएका महाश्रम शर्मा एक दिनका लागि सचिव बढुवा भएका थिए । उनले सचिव भएर हाजिर गर्न पनि पाएनन् । 


दिउँसो उनी सेवा निवृत्त भएर बिदाई भए । साँझ बसेको मन्त्रिपरिषद् बैठकले राती १२ बजेसम्म उनी सचिवमा बहाल रहेको मानिने भन्दै उनलाई निजामति सेवाबाट बिदा भैसकेपछि सचिव पदवी दिएर पठाएको थियो । शिक्षा मन्त्रालयमा लामो समय काम गरेका शर्माले विदाई हुँदै गर्दा पूर्वसचिवको पद पाए, सोही अनुसारको प्रतिष्ठा र पेन्सनपट्टा पनि । 

पूर्वसचिव केदाहरबहादुर अधिकारी सामाजिक प्रतिष्ठाकै कारण व्यक्तिले लबिङ गर्ने भएपनि सेवा निवृत्त हुन एक महिनाभन्दा कम अवधि रहेका कर्मचारीको हकमा के गर्ने भन्नेसम्बन्धमा सरकारले एउटा नीति बनाए सबैले न्याय पाउने बताउँछन् । 

‘निजामति सेवामा लामो समय व्यतीत गरेर बढुवाको साइकलमा आइपुग्दा सेवा निवृत्त हुन एक महिना बाँकी छ भने स्वतः एक तह बढुवा हुने र सोही अनुसारको निवृत्तिभरण (पेन्सन) प्रदान गर्ने व्यवस्था गर्नु उचित हुन्छ,’ अधिकारी भन्छन्, ‘जङ्गीमा तथा नेपाल राष्ट्र बैंकमा पनि सेवा निवृत्त हुँदा स्वतः एक तह बढुवा र सोही अनुसार निवृत्तिभरण पाउने व्यवस्था छ ।’

महाश्रम शर्माजस्तै अर्थ मन्त्रालय र मातहतका विभागमा लामो समय काम गरेका सूर्य आचार्यको पनि त्यस्तै उदाहरण छ । उनी तीन दिनका लागि सचिव बढुवा भएका थिए । 

पूर्वसचिव अधिकारी लामो समय काम गरेर बढुवाको सचिवमा आइपुगेकालाई अलिक लामो सेवा अवधि बाँकी रहेकासँग पृथक व्यवहार भने गर्न नहुने बताउँछन् । ‘उनीहरूको लामो योगदान हुन्छ, अनि चाँडै सेवानिवृत्त हुँदैछन् भनेर बढुवाको अवसर नदिने वा पदस्थापना नगर्ने भन्ने सवाल रहँदैन,’ अधिकारीले भने, ‘थोरै अवधि बाँकी भएकाले बढुवा हुने क्रममा रहेकाको करिअरमा पनि उनीहरूले अवरोध पुर्‍याउँदैनन् ।’ 

यस्तो किन हुन्छ ? 

पूर्व मुख्यसचिव विमल कोइराला भने यसमा फरक धारणा राख्छन् । सचिव बढुवा हुँदा व्यक्तिको प्रोफाइल बढ्छ । ‘विशिष्ट श्रेणी आवश्यक पर्ने संवैधानिक निकाय लगायत अन्य राजनीतिक नियुक्तिको ढोका खुल्न सक्छ,’ कोइरालाले भने, ‘पेन्सनपट्टा लगायत सुविधा बढ्छ । त्यसकारण व्यक्तिले लविङ गरिहाल्छ ।’

कोइरालाले यस्ता निर्णयले व्यक्तिका लागि राम्रै भएपनि राज्यले प्रणाली बसाउने कि व्यक्तिकेन्द्रित निर्णय गर्ने भन्ने सवाल महत्वपूर्ण भएको बताए । 

प्रधानमन्त्री कार्यालयमा सचिवको जम्बो टोलीको उदाहरण दिदैं उनले भने, ‘अहिले प्रधानमन्त्री कार्यालयमा कार्यालय सहायकभन्दा धेरै सचिवको दरबन्दी छ ।’ 

कोइरालाले आफू मुख्यसचिव हुँदा प्रधानमन्त्री कार्यालयमा तीनओटा सचिवको दरबन्दी घटाएर दुईओटामा झारेकोमा अहिले संघीय संरचनाको मर्म विपरित १० ओटा सचिव (मुख्यसचिव समेत) को दरबन्दी खडा गरेर व्यक्तिवादलाई प्रश्रय दिएको बताए ।

‘कुनै पनि दरबन्दी सिर्जना गर्दा कामको चापका आधारमा गर्नुपर्छ । झनै सचिवको दरबन्दी सिर्जना गर्दा उसले सम्पादन गर्ने कामको प्रकृति हेरेर उसको मातहतमा काम गर्ने सहसचिव, उपसचिव कति छन् भन्ने हेरेर एउटा सोपान (ल्याडर) बाट दरबन्दी सिर्जना गरिनुपर्छ ।’ 

यो पनि पढ्नुहोस्ः
प्रधानमन्त्री कार्यालयमा सचिवको जम्बो टोली, तीन प्रदेशमा प्रमुख सचिव छैनन्


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x