सुशासन

मृत्यु भइसकेका व्यक्तिका नाममा भत्ता लेनदेन गर्ने कर्मचारीविरुद्ध मुद्दा

इकागज |
असोज १३, २०७८ बुधबार १३:१४ बजे

काठमाडौँ – विगत ८/१० वर्ष अगाडि नै मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गर्ने तत्कालीन गाविसका कर्मचारीहरूविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध काठमाडौँ विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगको अनुसन्धानमा उदयपुर जिल्ला साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आर्थिक वर्ष २०६३/०६४ देखि आर्थिक वर्ष २०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मृत्यु र मृत्यु दर्ता भएपछि पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको खुलेको थियो । मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईबाट समेत सामाजिक सुरक्षा भत्ता १६ लाख ४० हजार पाँच सय रुपैयाँ हिनामिना गरेको देखिएको छ ।


तत्कालीन गाविस सचिव तथा हाल मालपोत कार्यालयका नायव सुब्बा केशव प्रसाद आचार्यले ९ लाख ९० हजार पाँच सय रुपैयाँ, तत्कालीन गाविस सचिव हाल रौतामाई गाउपालिका वडा नं ७ को वडा सचिव पदमा कार्यरत खरिदार लोकेन्द्र कार्कीले ७८ हजार रुपैयाँ हिनामिना गरेको उल्लेख छ । तत्कालीन गाविस सचिवतथा हाल उदयपुरको तथ्याङ्क कार्यालयका खरिदार विसाल सुन्दासले ८२ हजार रुपैयाँ, तत्कालीन गाविस सचिव तथा हाल रौतामाई गाउँपालिकाको कार्यालयमा छैठौँ तहका अधिकृत माधवप्रसाद खतिवडाले ३ लाख १४ हजार रुपैयाँ र तत्कालीन गाविस सचिव पद र हाल अवकास प्राप्त शाखा अधिकृत पुष्पराज सिग्देलले एक लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आयोगको ठहर छ ।


Author

थप समाचार
x