फुटबल

विश्वकपबाट चीन अझ पनि टाढै

इकागज |
माघ १४, २०७८ शुक्रबार १५:३ बजे

काठमाडौँ- चीनले सन् २००२ को विश्वकप खेल्यो । जापान र दक्षिण कोरियामा भएको त्यो विश्वकपपछि भने चीन बाँकी विश्वकपमा छनौट हुन सकेको छैन । एसियामै हुन लागेको यसपालिको विश्वकपमा पनि चीनले ठाउँ पाउने सम्भावना घटेको छ । बिहीबार राति जापानसँग २–० ले पराजित भएपछि कतार विश्वकपमा छनौट हुने चीनको सम्भावना झनै झिनो बनेको हो ।

विश्वकपको एसियातर्फको तेस्रो चरणको छनौट चलिरहँदा चीन समूह बी को पाँचौँ स्थानमा छ । चीनले सात खेलबाट पाँच अंक जम्मा गरेको छ । कुल ६ टिम रहेको यो समूहमा पुछारमा भियतनाम छ । सबै खेल हारेको भियतनामको खातामा अंक शून्य छ । 


चीनलाई पराजित गर्न जापानका युया ओसाको र जुन्या इटोले एक–एक गोल गरे । ओसाकोले १३ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । इटोले भने दोस्रो हाफमा गोल गरेका थिए । चीनलाई पराजित गरेसँगै जापानको १६ अंक भएको छ । जापान समूहको दोस्रो स्थानमा छ । यो समूहमा साउदी अरब पहिलो स्थानमा छ । उसको साता खेलबाट १९ अंक छ । यी दुई टिमलाई पछ्याइरहेको अस्टे«लियासँग १४ अंक छ । 

तेस्रो चरणको छनौटमा १२ एसियाली टिम प्रतिस्पर्धामा छन् । विश्वकपमा चार एसियाली टिमले सहभागिता जनाउछन् । यो संख्या पाँच पनि पुग्न सक्छ । किनभने एसियाको एउटा टिमले महादेसीय प्ले–अफ खेल्ने मौका पाउँछ । त्यसमा सफल भए, विश्वकपमा सहभागी हुने एसियाली टिमको संख्या पाँच पुग्नेछ ।  

समूह ए बाट इरानले विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेको छ । यो समूहबाट विश्वकपमा छनौट हुने दोस्रो टिम बन्ने दौडमा दक्षिण कोरिया अगाडि छ । अब एक खेल जिते दक्षिण कोरियाले खाडीमा हुने विश्वकपका लागि सहभागिता पक्का गर्नेछ । तेस्रो स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (यूएई)ले महादेसीय प्ले–अफ खेल्ने सम्भावना छ । तर त्यसका लागि छानिन उसले समूह बी मा तेस्रो स्थानमा रहने टिमलाई हराउनु पर्नेछ । समूह बी मा तेस्रो रहन सके मात्रै चीनको विश्वपक सपना जीवित रहनेछ । 

तेस्रो स्थान ओगट्न चीनले अस्ट्रेलिया र ओमानलाई पछि पार्नु पर्नेछ । हाल तेस्रो स्थानमा रहेको अस्टे«लिया चीनभन्दा नौ अंकले अघि छ । अनि चौथो स्थानमा रहेको ओमान चीनभन्दा दुई अंकले अगाडि छ । चीनले अब तीन खेल खेल्न बाँकी छ । उसका आगामी विपक्षी शीर्ष स्थानको साउदी, ओमान र भियतनाम छन् । उता अस्टे«लियाले भने ओमान, जापान र साउदीसँग खेल्न बाँकी छ । यसैगरी ओमानले अस्टे«लिया र चीनबाहेक भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।  


Author

थप समाचार
x