फुटबल

आहा रारा गोल्डकप:

उपाधि जित्ने मनाङ र एपीएफकाे दावी

इकागज |
माघ १४, २०७८ शुक्रबार १३:४४ बजे

पोखरा- सहारा क्लब पोखराको आयोजनामा भईरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल एपीएफ क्लब भिड्दै छन् । मनाङ र एपीएफ दुवै टिमले २० औं संस्करणको गोल्डकपको उपाधि जित्ने दावी गरेका छन् ।

पोखरामा शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा एपीएफका प्रशिक्षक कुमार थापाले यसपटकको उपाधि एपिएफले जित्ने प्रतिक्रिया दिए । खेलाडीहरुको प्रदर्शनबाट आफू सन्तुष्ट रहेकोले उपाधि जित्नेमा उनी विश्वस्त छन् । मनाङ राम्रो टिम भएकाले त्यही अनुसार रणनीति बनाएर खेल्ने उनको भनाइ थियो ।


कठिन परिस्थितिमा सहाराले प्रतियोगिता आयोजना गर्न मिहिनेत गरे जस्तै आफूहरुले पनि सोही अनुसारको खेलमा मिहिनेत गरेको उनले बताए । एपीएफ टिम कप्तान नवीन लामाले शनिबारको खेल प्रतिस्पर्धात्मक हुने बताए । मैदानमा डटेर खेल्दै १४ वर्ष अघि फाईनलमा व्यहोरेको हार बिर्सने उनको धारणा थियो ।

त्यस्तै मनाङका प्रशिक्षक फुजा तोपेले उपाधि जित्ने गरी आफूहरुले खेल प्रदर्शन गर्ने बताए । एपिएफले एक पछि अर्को खेल राम्रो गरेकाले त्यसमा आफूले ध्यान दिने उनको भनाई थियो । ६ पटक उपाधि जितेको मनाङले सातौं पटक पनि आफैले उपाधि रक्षा गर्न खेलाडी र आफू तयार रहेको उनले बताए । मनाङका कप्तान बिमल रानाले पनि होम ग्राउण्डमा उपाधि जित्ने विश्वास व्यक्त गरे । पोखरासँग सानैदेखिको साइनो रहेकाले पनि यो पटक आफ्नो कप्तानीमा उपाधि जितेर इतिहास रच्न आतुर रहेको उनको प्रतिक्रिया थियो ।

सिधै क्वार्टरफाईनल भिडेको मनाङले नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै सेमिफाइनल पुगेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङले आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका नजिक पुगेको हो । फाइनल खेल शनिबार दिउँसो २ बजेपछि पोखरा रंगशालामा हुनेछ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्नेछन भने स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।


Author

थप समाचार
x