फुटबल

विश्वकपमा छनौटः

लगातार तेस्रो पटक विश्वकपमा पुग्यो इरान, दक्षिण कोरियालाई एक जितको आवश्यकता

इकागज |
माघ १४, २०७८ शुक्रबार १२:४६ बजे

काठमाडौँ- विश्वकप २०२२ का लागि एसियातर्फको छनौट प्रतिस्पर्धा जारी छ । तेस्रो चरणको छनौट चलिरहँदा कुल १२ टिम सहभागी छन् । यी टिममध्ये चारले कतारमा हुने विश्वकपका लागि स्थान पक्का गर्नेछन् । यो संख्या पाँच पनि पुग्न सक्छ । किनभने एसियाको एउटा टिमले महादेसीय प्ले–अफ खेल्न पाउँछ । त्यसमा उ सफल भए विश्वकपमा भाग लिने एसियाली टिमको संख्या पाँच पुग्नेछ । 

छनौटको समूह ए बाट इरानले विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेको छ । तेहरानमा बिहीबार राति भएको खेलमा छिमेकी इराकमाथि १–० को जित दर्ता गरेपछि इरानले विश्वकप खेल्ने पक्का भएको हो । इरानका लागि मेधी तारेमीले निर्णायक गोल गरे । इरानले यसअघि पाँच पटक विश्वकप खेलिसकेको छ । पछिल्ला दुई संस्करणमा पनि इरानले एसियाको प्रतिनिधित्व गरेको थियो ।  


इरान समूह विजेताको हैसियतमा विश्वकपमा छनौट भएको हो । तेस्रो चरणको छनौटमा अपराजित इरानले सात खेलबाट १९ अंक जम्मा गरेको छ । यही समूहबाट विश्वकपमा सहभागी हुने दौडमा दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) पनि छन् । दक्षिण कोरियाले सात खेलबाट १७ अंक बटुलेको छ । उ यो समूहको उप–विजेता बन्दै विश्वकपमा पुग्न सक्छ । तर यूएई भने नौ अंकसहित तेस्रो स्थानमा छ । यूएईको विश्वकप लक्ष्य प्ले–अफबाट मात्रै सम्भव हुनसक्छ ।

इरानलेझैँ दक्षिण कोरियाले पनि बिहीबार नै आफ्नो सातौँ खेलमा जित हासिल गर्‍यो । चो गुए सुङले गोल गरेपछि दक्षिण कोरियाले लेबनानलाई पराजित गरेको हो । दक्षिण कोरियाले आठौँ खेलमा आगामी मंगलबार सिरियाको सामना गर्दैछ । यो खेल जिते दक्षिण कोरियाले विश्वकपको टिकट पक्का गर्नेछ । 

दक्षिण कोरियासँग खेल्न लागेको सिरिया भने बिहीबार राति यूएईसँग २–० ले हार्‍यो । यो हारपछि सिरिया छैटौँ स्थानमा छ । तेस्रो चरणको छनौटमा एक खेल पनि नजितेको सिरियासँग दुई अंक मात्रै छ । सात खेलमध्ये दुईमा बराबरी गरेको सिरिया समूह ए को पुछारमा छ । 
 
 


Author

थप समाचार
x