फुटबल

आफ्नै अभिव्यक्तिले विवादमा परे फिफा अध्यक्ष इन्फान्टिनो

इकागज |
माघ १३, २०७८ बिहिवार १४:१७ बजे

काठमाडौँ- फिफा अध्यक्ष जियानी इन्फान्टिनो आफ्नै अभिव्यक्तिका कारण विवादमा फसेका छन् । दुई–दुई वर्षमा विश्वकप आयोजना गरेमा अफ्रिकाको आर्थिक तथा सामाजिक समस्या समाधान हुने बताएपछि इन्फान्टिनो विवादमा परेका हुन् । 

पछिल्लो समय फिफाले विश्वकप आयोजना दुई–दुई वर्षमा गर्ने योजना बनाएको छ । तर फिफाको यस्तो योजनाको सर्वत्र विरोध भइरहेको छ । यसैकारण इन्फान्टिनोले फिफाको नयाँ योजनाको उपादेयता बुुझाउन विभिन्न किसिमका अभिव्यक्ति दिँदै आएका छन् । 


गत बुधबार एक कार्यक्रममा बोल्दै इन्फान्टिनोले विश्वकप दुई–दुई वर्षमा आयोजना भए यसले अफ्रिका महादेशलाई समेत आर्थिकरुपमा फाईदा पुग्ने बताएका थिए । ‘वास्तवमा हामी फुटबलको भविष्यबारे विवेचना गरिरहेका छौँ । फुटबलको सहयोगमा राष्ट्रिय टिमहरू आर्थिक रुपमा बलियो हुन सक्छन् । धेरै भन्दा धेरै राष्ट्रिय टिमले विश्वकप खेलुन् भन्ने चाहना हो,’ इन्फान्टिनोले भनेका छन्, ‘हामीले समग्र अफ्रिकाको अवस्थालाई हेर्नुपर्छ । जहाँबाट हजारौँ युवा मेडिटेरनियन पार गरेर युरोप प्रवेश गर्ने प्रयासमा रहिरहेका हुन्छन् । उनीहरूलाई हामीले फुटबलमार्फत सपना देख्न सहयोग गर्नुपर्छ ।’

इन्फान्टिनोको यही अभिव्यक्ति विवादमा परेको हो । विवादमा परेपछि इन्फान्टिनोले आफ्नो अभिव्यक्तिलाई फरक तरिकाले बुझिएको प्रतिक्रिया दिएका छन् । ‘मैले फुटबलको सहयोगमा मानवीय समस्या हल गर्न सकिन्छ भनेर भनेको हुँ । तर मेरो अभिव्यक्तिलाई गलत तरिकाले व्याख्या गरियो,’ इन्फान्टिनोले भनेका छन् । 

विश्वकप हाल चार–चार वर्षमा आयोजना भइरहेको छ । यसलाई दुई–दुई वर्षको अन्तरालमा आयोजना गर्न सकिए फिफाले थप चार अर्ब ४० करोड अमेरिकी डलर कमाइ गर्ने बताइएको छ । फिफाको नयाँ योजनाप्रति दक्षिण अमेरिकी र युरोपेली फुटबल महासंघहरू असहमत भए पनि अफ्रिकी महासंघले भने सहमती जनाइसकेको छ ।  

  
 


Author

थप समाचार
x