फुटबल

तीन पटकको च्याम्पियन नाइजेरिया एफ्कोनबाट बाहिरियो

इकागज |
माघ १०, २०७८ सोमबार १५:१८ बजे

काठमाडौँ- नाइजेरिया अफ्रिका कप अफ नेसन्स (एफ्कोन)बाट बाहिरिएको छ । प्रि–क्वार्टरफाइनलको भिडन्तमा आइतबार राति ट्युनिसियासँग १–०ले स्तब्ध भएपछि नाइजेरियाको एफ्कोन यात्रामा पूर्णविराम लागेको हो । समूह चरणमा शतप्रतिशत नतिजा निकालेको नाइजेरियालाई पराजित गर्न ट्युनिसियाका युसुफ मसाक्नीले खेलको एक मात्र गोल गरे । 

क्यामरुनमा जारी एफ्कोनको सम्भावित विजेताका रुपमा हेरिएको थियो, नाइजेरियालाई । प्रतियोगितामा उसको सुरुवात पनि बलियो थियो । नाइजेरिया समूह चरणमा तीनै खेल जित्ने एक मात्र टिम बनेको थियो । तर ६६ औँ मिनेटमा एलेक्स इयोबीले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको नाइजेरियाले दोस्रो हाफमा गोल फर्काउन सकेन । 


‘हामीले खेलमा नियन्त्रण नै जमाउन सकेनौँ । बरु हामीले उनीहरूलाई हरेक पक्षमा बलियो बन्न दियौँ । हाम्रो प्रदर्शन एकदमै निराशाजनक रह्यो,’ हारपछि नाइजेरियाका खेलाडी जो अरिबोले भने । 

विजेता ट्युनिसिया क्वार्टरफाइनलमा बुरकिना फासोसँग भिड्नेछ । जसले अन्तिम आठमा स्थानमा पक्का गर्न गाबोनलाई पराजित ग¥यो । पेनाल्टी सुटआउटसम्म पुगेको खेलमा बुकरिना फासो ७–६ ले विजयी बन्यो । 

खेलमा बुरकिना फासोले अग्रता लिएको थियो । उसका लागि बरट्रान्ड ट्राओरेले २८ औँ मिनेटमा गोल गरेका थिए । तर निर्धारित ९० मिनेट सकिएपछि थपिएको आतिरिक्त समयमा गाबोन खेलमा फर्कियो । बुरकिना फासोका एडामा गुइराले आफ्नै पोष्टमा गोल गरेपछि खेल एक्सट्रा टाइमतर्फ धकेलियो । तर थपिएको ३० मिनेटमा पनि निर्णायक गोल हुन सकेन । जसकारण नतिजाका लागि पेनाल्टी सुटआउटको सहारा लिनु पर्‍यो । 


 


Author

थप समाचार
x