फुटबल

मनाङको हारले मछिन्द्रलाई अंक दूरी बढाउने अवसर

इकागज |
पुस ३०, २०७८ शुक्रवार १९:१६ बजे

काठमाडौँ- च्याम्पियन बन्ने उदेश्यसहित सहिद स्मारक स्मारक ए डिभिजन लिगको सुरुवात गरेको मनाङ मर्स्याङदी क्लबले दोस्रो हार बेहोरेको छ । शुक्रबार दशरथ रंगशालामा मनाङलाई यसैपल्ट शीर्ष लिगमा बढुवा भएको सातदोबाटो युथ क्लबले २–१ ले स्तब्ध बनायो । सातदोबाटोले मनाङविरुद्ध ए डिभिजन लिगमा हासिल गरेको पहिलो जित हो । 

सातदोबाटोले दुवै गोल पहिलो हाफमा गरेको थियो । उसको पहिलो गोल मार्टिन एडेल्फे सिलो नांगाले ११ औँ मिनेटमा गोल गरेका थिए । सातदोबाटोले ३८ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । उसका लागि मार्टिन्स कायोडे अजायीले गोल गरेका छन् । दोस्रो हाफमा अफिज ओलावाले ओलाडिपेले मनाङका लागि गोल फर्काएका थिए ।   


यो हारपछि मनाङले पहिलो स्थानमा उक्लने मौका गुमायो । नौ खेलपछि मनाङको १९ अंक छ । एक खेल कम खेलेको लिग लिडर मछिन्द्र फुटबल क्लबको २० अंक छ । अब उसले मनाङसँग दूरी बढाउने अवसर पाउने भएको छ । एएफसी कप छनौटको दौडमा मछिन्द्रसँग पछि परेको मनाङ उपाधि होडमा पनि पछडि पर्ने सम्भावना बढेको छ । 

अब मछिन्द्रले आइतबार १२ औँ स्थानमा रहेको बिग्रेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्ने तालिका छ । बीबीसीलाई हराए मछिन्द्र चार अंकको अग्रता बनाउनेछ । 
जारी लिगमा मनाङले अब चार खेल खेल्न बाँकी छ । उसले १० औँ चरणमा थ्रीस्टार क्लकसँग प्रतिस्पर्धा गर्दैछ भने बाँकी तीन खेलमा नेपाल एपीएफ फुटबल क्लब, न्युरोड टिम र त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दैछ । उपाधि दौडमा रहेको अर्को टिम मछिन्द्रले भने बीबीसी, च्यासल युथ क्लब, सातदोबाटो, थ्रीस्टार र एपीएफको सामना गर्ने तालिका छ । 


Author

थप समाचार
x