फुटबल

४१ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका इब्राहिमोविचको कस्तो थियो खेल जीवन ?

इकागज |
जेठ २२, २०८० सोमबार १०:२९ बजे

काठमाडौँ- इटालियन ‘सिरि ए’ फुटबल क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचले ४१ वर्षको उमेरमा फुटबल खेलबाट सन्यास लिएका छन् ।

आधुनिक फुटबलका सर्वाधिक सफल फुटबलरमध्येका एक इब्राहिमोविचले एसी मिलानका लागि यस सिजनको अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिएका हुन् । ‘सिरि ए’ अन्तर्गत एसी मिलानले भेरोनालाई ३-१ ले पराजित गरेको खेलसँग इब्राहिमोविचले फुटबलबाट सन्यास लिएका हुन् ।


‘म फुटबललाई बिदा भन्दै छु, तपाईहरुलाई होइन,’ स्वीडेन राष्ट्रिय फुटबल टिमका पूर्व स्ट्राइकर इब्राहिमोविचले बिदाइका क्रममा बताएका बीबीसीले उल्लेख गरेको छ ।

यसअघि नै इटालियन क्लब छाड्ने घोषणा गरेका ४१ वर्षीय इब्राहिमोविचले विभिन्न चार देशको लिगको उपाधि जित्न सफल भएका छन् । विभिन्न क्लबका लागि ५ सय ११ गोल पूरा गरेका इब्राहिमोविचले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा इटालियन क्लबहरु एसी मिलान र इन्टर मिलानबाट समेत खेलेका छन् ।

त्यसबाहेक उनले स्वेडेनको माल्मो, नेदरल्यान्ड्सको अयाक्स, इटालियन क्लब युभेन्टस र अमेरिकाको एलए ग्यालेक्सीका लागि पनि खेलेका छन् ।

सन् २०११-१२ मा को सिजनमा खेल्दा एसी मिलानलाई लिगको उपाधि दिलाएका इब्राहिमोविचले २०१९ मा पुनः एसी मिलान फर्किएपछि गत सिजन उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

आजीवन ‘मिलानिस्टा’ रहने बताएका इब्राहिमोविचले समग्रमा १४ वटा लिग उपाधि जिते भने ११ पटक बालोन डी’ओरका लागि मनोनयनमा परे । च्याम्पियन्स लिगको उपाधि उचाल्न नपाएका इब्राहिमोविचले भने म्यानचेस्टर युनाइटेडबाट २०१७ को युरोपा लिगको उपाधि भने चुम्न पाए ।

उनले स्विडेनको राष्ट्रिय टोलीबाट सन्यास लिँदा १ सय २२ खेलमा इब्राहिमोविचले कीर्तिमानी ६२ गोल गरे । स्विडेनका लागि इब्राहिमोविचले गरेको ६२ गोल अहिलेसम्मकै धेरै हो । उनले सन् २००२ तथा २००६ को विश्वकप खेल्दा २००४, २००८, २०१२ र २०१६ को युरोपियन च्याम्पियनसीपमा सहभागिता जनाए । इंग्ल्यान्डविरुद्ध ३५-यार्डबाट गरेको बाइसाइकल किक गोलका कारण इब्राहिमोविचले सन् २०१३ मा फिफा पुसकास अवार्ड समेत हात पारे ।

इब्राहिमोविचले सन् १९९९ मा स्विडेनको माल्मोबाट व्यावसायीक फुटबल खेल्न सुरु गरेका थिए । उनी सन् २००१ मा नेदरल्यान्ड्सको अयाक्समा आवद्ध हुँदै ३ वर्षमा ३ वटा लिगको उपाधि जिते ।

सन् २०४ मा इटालियन क्लब युभेन्टसमा आवद्ध भएका इब्राहिमोविच सन् २००६ मा इटालीकै इन्टर मिलानमा आवद्ध भएर ३ वटा लिगको उपाधि हात पारे ।

सन् २००९ मा स्पेनिस क्लब बार्सिलोना गएका इब्राहिमोविचले बार्सिलोनालाई एक पटक ला लिगाको उपाधि दिलाएपछि लोनमा इटालियन क्लब एसी मिलान आएका उनी सन् २०११ स्थायी रुपमै एसी मिलानमा बसे ।

तर एक वर्षपछि उनी फ्रेन्च क्लब पीएसजीमा आवद्ध हुँदै क्लबलाई ४ पटक लिग वानको उपाधि दिलाए । उनले पीएसजीका लागि १ सय २२ लिग खेलमा १ सय १३ गोल गरे ।

उनी सन् २०१६ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आए र क्लबलाई लिग कप तथा युरोपा लिगको उपाधि दिलाउन सफल भए । उनी सन् २०१८ मा अमेरिकाको एलए ग्यालेक्सीमा आद्ध भए र दुई सिजन उतै विताएपनि सन् २०१९ मा पुनः एसी मिलान फर्किए ।


Author

थप समाचार
x