रियल मड्रिडले इडेन हाजार्डलाई ‘रिलिज’ गर्ने

काठमाडौँ- स्पेनिस फुटबल क्लब रियल मड्रिडले आफ्ना फरवार्ड इडेन हाजार्ड जुन महिनाको अन्त्यमा ‘रिलिज’ गर्ने भएको छ । मड्रिडले हाजार्डलाई चार वर्षपछि रिलिज गर्न लागेको हो ।
बेल्जियम राष्ट्रिय टिमका पूर्व कप्तान हाजार्ड सन् २०१९ मा इंग्लिस क्लब चेल्सीबाट कीर्तिमानी एक सय तिस मिलियन यूरोमा मड्रिडमा आबद्ध भएका थिए । मड्रिडमा हाजार्डको सम्झौता अझै एक वर्ष बाँकि भएपनि स्पेनिस क्लबले हाजार्डलाई सम्झौताबाट १२ महिना अगाडि नै रिलिज गर्ने भएको हो ।
मड्रिडमा उनको समय चोट र खराब फर्ममै बितेको छ । मड्रिडका लागि उनले ७६ खेलमा सात गोल मात्र गरेका छन् ।
'रियल मड्रिड र इडेन हाजार्डबीच भएको सम्झौताअनुसार हाजार्डले ३० जुन २०२३ पछि क्लब छाड्ने छन्,' मड्रिडको आधिकारिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाजार्डले मड्रिडमा चार वर्ष बिताउँदा १ युइएफए च्याम्पियन्स लिग, १ क्लब विश्वकप, १ युरोपेली सुपर कप, २ स्पेनिस ला लिगा, १ कोपा डेल रे र २ स्पेनिस सुपर कप जित्न सफल भए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया