फुटबल

यू-२० एसियन कप छनोटः नेपालले पहिलो खेल म्यानमारविरुद्ध खेल्ने

इकागज |
जेठ १७, २०८० बुधवार ११:० बजे

काठमाडौँ- एएफसी यू-२० महिला एसियन कपको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले बलिया प्रतिद्वन्द्वीविरुद्ध खेल्ने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेल म्यानमारविरुद्ध खेल्ने भएको हो । 

यस समूहमा नेपालसँगै चीन, म्यानमार र चाइनिज ताइपेइ रहेका छन् । समूह ‘ए’ मा भने अस्ट्रेलिया, भिएतनाम, इरान र लेवनान रहेका छन् ।


दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘बी’ का खेलहरु म्यानमारको याङ्गोनस्थित थुवाना स्टेडियममा हुने तालिका रहेको छ । नेपालले पहिलो खेल आयोजक म्यानमारविरुद्ध जुन ६, चीनविरुद्ध जुन ८ र चाइनिज ताइपेइसँग जुन १० मा खेल्नेछ ।

दुवै समूहका विजेता तथा उपविजेता आगामी वर्ष उज्बेकिस्तानमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कपका लागि छनोट हुनेछन् । प्रतियोगिताका लागि आयोजक उज्बेकिस्तानसँगै जापान, उत्तर कोरिया र दक्षिण कोरिया छनोट भइसकेका छन् ।  

यसअघि भएको पहिलो चरणको छनोटअन्तर्गत नेपाल समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणका लागि छनोट भएको थियो ।


Author

थप समाचार
x