फुटबल

एन्फासँग बजेट नभएपछि नेपालले एएफसी यू-२३ एसियन कप छनोट नखेल्ने

सञ्जीव शाह |
जेठ ८, २०८० सोमबार ११:८ बजे

तस्बिरः मेघराज केसीको फेसबुकबाट

काठमाडौँ- नेपाली राष्ट्रिय यू-२३ पुरुष फुटबल टिमले एएफसी यू-२३ एसिया कप छनोटमा सहभागिता नजनाउने भएको छ । सन् २०२४ को अप्रिल १५ देखि मे ३ तारिखसम्म कतारले आयोजना गर्ने एएफसी यू-२३ एसियन कपका लागि यही वर्षको सेप्टेम्बर ४ देखि १२ तारिखसम्म छनोट आयोजना हुँदैछ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले यू-२३ एसियन कप छनोटका लागि कतारबाहेक खेल्ने ४३ देशको नाम सार्वजनिक गरेको छ । एएफसीले छनोट खेल्न चाहेको ४३ देशको नाम सार्वजनिक गरेको छ । छनोटका लागि एएफसीले आउँदो बिहीबार ‘ड्र’ गर्दैछ ।


एएफसीले सार्वजनिक गरेको सहभागीको नामअनुसार नेपालले छनोट नखेल्ने निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले पनि नेपालले छनोट नखेल्ने इकागजसँग पुष्टी गरे ।

एएफसी छनोट खेल्न एन्फाले आफ्नै खर्चमा टिम पठाउनुपर्ने भएका कारण नेपालले छनोट नखेल्ने बताए । उनले छनोट खेल्नका लागि राष्ट्रिय टिम पठाउन एन्फासँग पर्याप्त बजेट नभएको समेत बताए ।

‘आफ्नै खर्चमा जानुपर्ने थियो । तर हामीसँग छनोट खेल्न जानका लागि रकमको अभाव छ । आफ्नै खर्चमा जाँदा ठूलै खर्च हुन्छ । त्यसका लागि एन्फासँग बजेट छैन,’ राईले इकागजलाई बताए ।

एन्फा महासचिव राईका अनुसार एन्फाको वार्षिक बजेटमा यसका लागि रकम छुट्याइएको छैन । ‘छनोटका लागि बजेट आएको थिएन र एन्फाको बजेटमा यस शीर्षकमा रकम पनि छुटयाइएको थिएन,’ राईले बताए ।

यसअघि सन् २०२२ मा उज्बेकिस्तानमा भएको यू-२३ एसियन कपका लागि भएको छनोट नेपालले खेलेको थियो । नेपालले उक्त छनोट ताजिकिस्तानमा खेलेको थियो । जसमा नेपालले तीनवटै खेलमा पराजय भोगेको थियो । नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग पराजय भोगेको थियो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x