फुटबल

विराट गोल्डकप

६१ वर्षपछि घरेलु टिम विराटनगर सिटीलाई उपाधि

बाबुराम भण्डारी |
चैत १७, २०७९ शुक्रबार ८:१३ बजे

विराटनगर - विराटनगरको सहिद मैदानमा आयोजित रात्रिकालीन विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले उचालेको छ । बिहीबार राति १० बजे सकिएको सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा बीसीएफसीले ४-० अन्तरमा भारतको केरलास्थित लुका सकर क्लवलाई पन्छाउँदै उपाधि जितेको हो ।

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ-११ उपविजेतामा सीमित हुँदा एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ-११ ले उपाधि जित्दै कोलकातालाई पैचो फिर्काएको थियो ।


त्यस यताका सबै खेलमा भने आयोजक टोली सधैं निरास बन्नु परेको थियो । पराजयको शृङ्खला रोक्न ६१ वर्ष कुर्नु पर्यो । घरेलु मैदानमा दर्शकको साथ पाएको विराटनगरले पाहुना टोलीलाई निरास बनाउँदै सातौं संस्करणको विराट गोल्डकप उपाधि जितेको छ । विराटनगर सिटीले उपाधिसँगै मोफसलको प्रतियोगिता मध्येको आकर्षक नगद राशि २० लाख १५ हजार रुपैयाँसहित ट्रफी उचाल्न सफल भयो ।

उपविजेता लुका सकरले १० लाख १५ हजारमा चित्त बुझायो । जितको लागि विराटनगर सिटीका विदेशी खेलाडी अफिज ओलवाले खेलको सातौं मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई अफिजले गोलमा परिणत गरेका थिए । ७८ औं मिनेटमा बिमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी उपाधि उचाल्ने बाटो तय गरेका थिए ।

खेल गुमाउन लागेको दबाबमा लुका सकर आक्रमक बन्दा पुनः ८९ औं मिनेटमा बीसीएफसीका लागि मेसुकेले तेस्रो गोल गरे । बिमलले निकालेको पासलाई मेसुकेले गोलमा परिवर्तन गरेका थिए । प्रशिक्षक सन्तोष न्यौपानेले अन्तिम रणनीतिक खेलका लागि मैदान पठाएका विराटनगर सिटीका अभिषेक गुरुङले इन्जुरी टाइमको अन्तिम मिनेट गोल गर्दै नतिजा ४-० मा पुर्याउन मद्दत गरे ।

फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत मेडल र पुरस्कारमा पनि बीसीएफसीकै दबदबा देखियो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइ स्कोरर विराटनगर सिटीका अभिषेक गुरूङ भए ।

उनले खेल अवधिमा दुई गोल गरेका थिए । बेस्ट फरवार्ड लुका सकरका चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्डर विराटनगरकै देवेन्द्र तामाङ घोषित भए । बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा एवार्ड पाउनेहरूले जनही २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । खेलको ७४औं मिनेटमा स्टेफेनले हानेको पेनाल्टी सुट बाहिरिदा भने धरेलु दर्शक निराश पनि बने ।

स्टेफेनले गरेको प्रहार लुका सकरका गोलकिपर सनफिरले उत्कृष्ट बचाउ गरे । त्यसलगतै स्टेफेनले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो । लुका सकरले एक गोलले पछि परेपछि नै खेलमा दवाब सहनु परेको थियो । पहिलो हाफमा पाएको गोल गर्ने सुन्दर अवसर खेर फाल्दा लुका सकरलाई खेल बराबरीमा ल्याउनै मुस्किन पर्यो । लुका सकरले ७७ औं मिनेटमा वान भर्सेस वानको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो ।

त्यसलगतै पलको डिबक्सभिबाट गरेको प्रहार विराटनगरका  गोलकिपर प्रदिप भण्डारीले बिफल पारिदिएका थिए । प्रतियोगिताको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ, विराट गोल्डकपका आयोजक समितिका संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानिया लगायतले पुरस्कार वितरण गरेका थिए । 

खेल अघि भएको समापन समारोहमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारको तर्फबाट १२ लाख रुपैयाँ गरेको जानकारी दिएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x