फुटबल

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल

खेलाडी पलायनको असर : भुटानसँग झण्डै पराजित !

सञ्जीव शाह |
चैत १५, २०७९ बुधबार १२:५९ बजे

काठमाडौँ- प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिए पनि भुटानका मुख्य प्रशिक्षक पेमा दोर्जीले इतिहास बनाएकोमा खुसी व्यक्त गरे । प्रतियोगिताअन्तर्गत मंगलबार नेपालसँग १-१ गोलको बराबरी खेलेर भुटानले इतिहास रचेपछि प्रशिक्षक दोर्जी खुसी देखिएका थिए ।

खासमा नेपालले भुटानमाथि प्रायजसो खेलमा रवाफिलो जित हात पार्दै आएको थियो । नेपालले भुटानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल सन् १९८४ को साफ खेलकुदमा खेल्दा नै ५-० गोलअन्तरले पराजित गरेको थियो । त्यस यता नेपाल भुटानमाथि सधैँ हाबी हुँदै आएको थियो ।


सन् १९८४ देखि नेपालले भुटानलाई लगातार १३ खेलमा पराजित गर्दा नेपालले सन् १९९९ को साफ खेलकुदमा भुटानमाथि सबै भन्दा फराकिलो ७-० को जित निकालेको थियो । थ्री नेसन्स कप अघि पनि सन् २०१८ को साफ च्याम्पयनसीपमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो ।

तर पाँच वर्षभित्रै भुटान नेपालमाथि हाबी हुने अवस्था आएको छ । मंगलबार नेपालविरुद्ध मैदानमा उत्रँदा भुटानले खेलको २० औँ मिनेटमा तेन्जिन नोर्बुको गोलमा अग्रता बनाउन सफल भयो । अन्जन विष्टको स्थानमा ५१ औँ मिनेटमा मैदान प्रवेश गरेका स्ट्राइकर दीपकराज सिंह ठकुरीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाए ।

अन्तिम समयमा गोल खाएर खेल बराबरीमा टुंगिएपछि भुटानका प्रशिक्षकले निराश भए पनि नेपालविरुद्ध पहिलो पटक बराबरी खेल्दा भने उनी खुसी थिए । उनले नेपाली टिममा रहेका खेलाडीहरूले पुरानो लय समात्न नसकेको समेत दाबी गरे ।

भुटानका प्रशिक्षक खुसी भइरहँदा पछिल्लो समय भएको फुटबल खेलाडी पलायनको असर भने नेपाली टिमको प्रदर्शनमा प्रत्यक्ष रूपमा देखियो । नयाँ खेलाडीको भरपरेको नेपाली टिमलाई भुटानले अधिकांश समय दबाबमा राख्यो । साथै एकपछि अर्को मौका सृजना गर्‍यो । भुटानले अधिकांश समय बल आफ्नो नियन्त्रणमा समेत राख्न सफल भयो ।

पछिल्लो समय सुजल श्रेष्ठ, रजिन धिमाल, विशाल राई, दिनेश राजवंशी, तेज तामाङ, रञ्जन विष्ट, हेमन्त थापामगर, अभिषेक रिजाल, गौतम श्रेष्ठ, सुमन अर्याल, सुनिल बल, सरोज दाहालजस्ता खेलाडीहरू विदेश पलायन भएका छन् । जसका कारण टिममा एकै पटक ठूलो संख्यामा नयाँ खेलाडीहरू टिममा मौका पाएका छन् । तर प्रदर्शन भने सोचेजस्तो हुन सकेको छैन ।

नेपाली टिमका कप्तान किरण चेम्जोङले नै खेलाडीहरूबीच तालमेल नमिलेको तथा डिफेन्समा पनि कमजोरी भएको स्वीकार गरे । चेम्जोङले खेलाडी पलायनले टिममा असर गरेको पनि स्वीकार गरे । उनले आफूसँगै खेलेका अधिकांश खेलाडी बाहिर जाँदा त्यसको असर टिममा परेको बताए । तर चेम्जोङले प्रतियोगिताको तयारीका लागि समय कम भएकोमा गुनासो गरे ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनेसीले पनि खेलाडीको विदेश पलायनले टिमको प्रदर्शनमा प्रत्यक्ष असर गरेको बताए । उनले टिमको सबै पोजिसनमा सुधारको आवश्यकता औल्याए ।

पछिल्लो समय सुजल श्रेष्ठ, रजिन धिमाल, विशाल राई, दिनेश राजवंशी, तेज तामाङ, रञ्जन विष्ट, हेमन्त थापामगर, अभिषेक रिजाल, गौतम श्रेष्ठ, सुमन अर्याल, सरोज दाहालजस्ता खेलाडीहरु विदेश पलायन भएका छन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x