फुटबल

सुदूरपश्चिम खप्तड गोल्ड कप सुरु, विजेता टोलीले २१ लाख रुपैयाँ पुरस्कार पाउने

इकागज |
चैत ९, २०७९ बिहीबार २०:२३ बजे

कैलाली- कैलालीको धनगढीमा आजबाट सर्वाधिक धनराशिको सुदूरपश्चिम खप्तड गोल्ड कप सुरु भएको छ । सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा बिहीबार भएको उद्घाटन खेलमा सर्लाहीको बाग्मती युवा क्लब विजयी भएको छ । 

विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गरी बाग्मती युवा क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ । हारसँगै एपीएफ भने प्रतियोगिताबाट बाहिरिएको छ । 


बाग्मतीको जितमा अनिल राना मगरले पहिलो हाफको चौथो मिनेटमै गरेको गोल नै निर्णायक भयो । 

चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजन ६ टिम, दुई विदेशी टिम, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी  दिएको छ । 

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलबहादुर शाहले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा सुदुरपश्चिम प्रदेशमा सबैभन्दा धेरैपटक रक्तदान गरि मानवीय सेवामा योगदान पुर्‍याएको भन्दै सुदूरपश्चिमकर्मी दीपक उपाध्यायलाई सम्मान गरिएको थियो । उपाध्यायलाई मुख्यमन्त्री शाहले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए । उपाध्यायले अहिलेसम्म १०० पटक रक्तदान गरिसकेका छन् ।

भोलिको खेल एभिनियर एफसी क्यामरुन र खुमलटार एफसीका बीच हुने छ ।


Author

थप समाचार
x