फुटबल

थ्री नेसन्स फुटबल साफको तयारीको रुपमा पनि हुनेछः प्रशिक्षक भिन्सेन्जो

इकागज |
चैत ७, २०७९ मगलवार १४:४४ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसीले बुधबारबाट सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता भारतमा हुने साफ च्याम्पियनसीपको तयारीको रुपमा समेत हुने बताएका छन् ।

थ्री नेसन्स कपका लागि आयोजित प्रि-म्याच कन्फ्रेन्सका क्रममा भिन्सेन्जोले साफ च्याम्पियनसीप तयारीका लागि यो पहिलो पाइला भएको बताए ।


भारतले आगामी जुन २१ देखि जुलाई ३ सम्म साफ च्याम्पियनसीप फुटबल आयोजना गर्दैछ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले च्याम्पियनसीप बेंग्लुरुमा आयोजना हुने जनाएको छ ।

फिफाको क्यालेन्डर अनुसार अखिल नेपाल फुटबल संघले थ्री नेसन्स कप आयोजना गरिरहेको हो । प्रतियोगितामा नेपालसँगै लाओस र भुटानको सहभागिता रहेको छ ।

प्रशिक्षक भिन्सेन्जोले प्रतियोगितामा नेपाल भन्दा फिफा वरीयतामा तल रहेका टिमसँग खेलेपनि दुबै टिम राम्रा रहेको बताए । उनले सबैभन्दा महत्वपूर्ण खेल जित्नु रहेको जनाए ।

फिफा वरीयता अनुसार नेपाल १ सय ७५ औँ तथा भुटान १ सय ८५ औँ र लाओस १ सय ८७ औँ स्थानमा रहेका छन् ।

मुख्य प्रशिक्षक भिन्सेन्जोले थ्री नेसन्स कपको उपाधि जित्ने उदेश्यले मैदानमा उत्रने तथा खेलाडी छनोट पनि सोही अनुसार भएको बताए ।

भिन्सेन्जोले ठूला नाम भएका खेलाडी भन्दा उचित खेलाडीलाई प्रतियोगिताका लागि छनोट गरेको समेत उनले दावी गरे ।


Author

थप समाचार
x