फुटबल

साफ यू-२० च्याम्पियनसीप: नेपालसँग भुटान पराजित

इकागज |
माघ २२, २०७९ आइतबार १६:३६ बजे

काठमाडौँ- बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीप अन्तर्गत नेपालले पहिलो जित हात पारेको छ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा भुटानलाई ४-० गोलअन्तरले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो ।

यसअघि पहिलो खेलमा भने नेपालले आयोजक बंगलादेशसँग ३-१ गोलअन्तरको पराजय भोगेको थियो । भुटानले पनि पहिलो खेलमा भारतसँग १२-० गोलअन्तरको पराजित भएको थियो ।


आजको खेलमा नेपाललाई जित दिलाउन अमिशा कार्कीले ह्याट्रिक पुरा गर्दा कप्तान प्रिति राईले एक गोल गरे । अमिशाले १९ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । अमिशाले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गरिन् ।

६१ औँ मिनेटमा कप्तान प्रिति राईले नेपालका लागि तेस्रो गोल गरिन् । ६२ औँ मिनेटमा अमिशाले गोल गर्दै टिमको चौथो तथा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

प्रतियोगितामा बंगलादेशसँगै नेपाल भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।


Author

थप समाचार
x