फुटबल

विश्वकप जितेका मेस्सी, मन जितेका एमबाप्पे

इकागज |
पुस ४, २०७९ सोमबार १७:२७ बजे

काठमाडौँ- लियोनल मेस्सीको एउटै सपना थियो विश्वकप जित्ने । अनि अर्बौ फुटबल फ्यानको सपना थियो मेस्सीले विश्वकप जितेको हेर्ने ।

मेस्सीले जित्नु र मेस्सीले जितेको हेर्नु केवल संयोग मात्रै थिएन । धेरैको इच्छा, आकांक्षा, मनोकांक्षादेखि एक सफल सुपरस्टारप्रतिको सम्मान थियो । मेस्सीको त्यो सपना, फ्यानको त्यो मनोकांक्षादेखि विश्व फुटबलको एउटा सुपरस्टारको अध्याय पूरा भएको छ । मेस्सीले विश्वकप जितेका छन् । सफलताको एउटा मानकका रूपमा सुनको ट्रफी चुमेका छन् । त्यति मात्रै होइन, मेस्सीले सर्वकालीन महान खेलाडीको बहस पनि अन्त्य गरिदिएका छन् ।


किनकि मेस्सीले जितेको हेर्न चाहने लाखौँ करोडौँ थिए । नेपालमै पनि मेस्सीले केवल विश्वकप जितेको देखेपछि एउटा ठूलो सपना पूरा भएको सामाजिक सञ्जालमा समर्थकको टिप्पणी छ ।

त्यति मात्रै होइन, सबैभन्दा ठूलो प्रतिष्ठाको विषय मानिने रोनाल्डोसँगको सदाबहार लडाइ अन्ततः मेस्सीले जितेका छन् । विश्वकप जितेर उनले रोनाल्डोसँगको लडाई आफ्नो पक्षमा पारेका छन् । महान् भए पनि रोनाल्डो मेस्सीभन्दा पछाडि परेका छन् । विश्वकप जित्न नसकेका कारण रोनाल्डो पछि परेका हुन् ।

मेस्सी अब पेले र म्यारोडोना पछिकै महान् खेलाडी घोषित भएका छन् । अर्जेन्टिनालाई तेस्रो विश्वकप जिताएका मेस्सीले आफ्नो फुटबल करिअरमा सबै किसिमका उपाधि जित्न सफल भएका छन् ।

क्लब फुटबलमा बार्सिलोनाबाट सबथोक जितिसकेका मेस्सीले अर्जेन्टिनाका लागि कोपा अमेरिका र विश्वकप उपाधि पनि जित्न सफल भएका छन् । जबकि म्यारोडोनाले कोपा अमेरिका जित्न सकेका थिएनन् ।

पेले, म्यारोडोनापछि मेस्सी उत्कृष्ट हुँदा अब रोनाल्डो जिदान, रोमारियो, रोनाल्डो, रोनाल्डिन्हो लगायतका खेलाडीमा गनिने छन् । किनकि इतिहासमा उसैको नाम लेखिन्छ, जसले जित्छ । अर्थात् विश्वकप जित्नेकै नाम स्वर्णिम अक्षरले लेखिन्छ । अब मेस्सीको नाम पनि स्वर्णिम अक्षरमा विश्व फुटबलको इतिहासमा लेखिनेछ ।

सर्वाधिक ७ पटक बालोन डिओर जितेका मेस्सीले अब अर्को बालोन डिओर अवार्ड जित्ने पनि निश्चित भएको छ । किनकि मेस्सीले जित्न बाँकी विश्वकप पनि जितेपछि उनी बालोन डिओर अवार्डका सबैभन्दा ठूला हकदार हुन् ।

सन्यास फिर्ता लिएर मैदान फर्किँदाको सफलता

एक समय अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरिसकेका मेस्सीले फर्केर अर्जेन्टिनाका लागि उपाधि जित्न थालेका हुन् । दक्षिण अमेरिकामा सबैभन्दा ठूलो प्रतिष्ठित मानिने कोपा अमेरिका प्रतियोगितामा तीन पटक फाइनल हारेपछि सन् २०१६ मा मेस्सीले अचानक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । 
चिलीसँग तेस्रो फाइनल पनि हारेपछि मेस्सीले अब आफूले जित्न नसक्ने भन्दै सन्यासको घोषणा गरेका थिए । तर, अर्जेन्टिनाका लाखौँ फ्यानसँगै राष्ट्रपतिले समेत आग्रह गरेपछि मेस्सीले सन्यास फिर्ता लिँदै अर्जेन्टिनाको जर्सीमा खेल्न थालेका थिए ।

जसले गएको वर्ष अर्जेन्टिनालाई आफ्नो पहिलो उपाधिका रूपमा कोपा अमेरिका जिताए । त्यो पनि नेयमार जस्तो बलियो ब्राजिलको टिमलाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो ।

फ्रान्सजस्तो बलियो र डिफेन्डिङ च्याम्पियन टिमलाई टाइब्रेकरमा हराउँदै मेस्सीले अर्जेन्टिनाका लागि विश्वकप जितेका छन् । यससँगै विश्व फुटबलमा मेस्सीले सबै उपाधि जितेका छन् । सबैभन्दा ठूलो विश्वकप जित्ने उनको सपना पनि पूरा भएको छ ।

निरन्तर प्रयास गर्न छाड्नु हुन्न भन्ने कथनलाई मेस्सीले प्रमाणित मात्रै गरेका छैनन्, विश्व फुटबलमा सबैभन्दा ठूला प्रेरणाका स्रोत पनि बनेका छन् । विश्वकप फुटबलबाट उपाधिसहित शानदार बिदाइ भएका मेस्सीले अब विश्वकप नखेल्ने घोषणा गरिसकेका छन् ।

मन जितेका एमबाप्पे 

प्रायः खेलमा हार्नेहरूको कथा लेखिँदैन । हार्नेहरूको चर्चा पनि हुँदैन । जति जित्ने र उपाधि कब्जा गर्नेको इतिहास लेखिन्छ । तर, यस पटक जतिले मेस्सीलाई विश्वकप जितेकोमा बधाई दिएका छन्, त्यति नै सहानुभूति र सम्मान एमबाप्पेलाई पनि गरेका छन् ।

विश्वकप फाइनलमा ह्याट्रिक गरेर दुर्लभ कीर्तिमान राखेका एमबाप्पेले मेस्सीविरुद्धको फाइनल खेललाई सोचेभन्दा बढी रोचक बनाएका थिए । दुई मिनेटमा दुई गोल गरेर सनसनी मच्चाएका एमबाप्पेले फ्रान्सका लागि उपाधि रक्षा धेरै प्रयास गरेका थिए । जसले खेल सकिन दुई मिनेट बाँकी हुँदा आफैँले पेनाल्टी सिर्जना गरेर गोल गरे ।

निर्धारित समयमा फ्रान्सलाई उत्कृष्ट कमब्याक गराउन र अतिरिक्त समयमा पनि रोचक खेल पस्किन सफल भएकामा एमबाप्पे धेरैको मन–मुटुमा बसेका छन् ।

विश्वकप जित्नैपर्ने खेलाडीमा मेस्सी थिए । जुन धेरैको सपना र चाहना थियो ।

तर, विश्वकपको उपाधि उचाल्ने क्षमता र त्यसका हकदार एमबाप्पे थिए । जसले एक्लैले फाइनलमा तीन गाेल गरेर टिमलाई उपाधि नजिक पुर्‍याएका थिए ।

टाइब्रेकरमा पनि गोल गर्न सफल भएका उनले सहकर्मीबाट उत्कृष्ट साथ सहयोग नपाउँदा स्तब्ध बन्नुपर्‍याे ।

तर, एक उत्कृष्ट खेलाडीले विश्वकप जित्दा विश्व फुटबलमा अर्का एक उत्कृष्ट खेलाडीको उदय भएको छ । मेस्सीले विश्वकप जितेर विश्वकपबाट बिदा लिएसँगै रोनाल्डोको युग पनि समाप्त भएको छ । तर, मेस्सी र रोनाल्डोले फुटबल खेलमा दिने रोचकता अब एमबाप्पेले दिनेमा शंका छैन ।

१९ वर्षकै उमेरमा विश्वकप जितिसकेका एमबाप्पेले अझै खेल्न र विश्व फुटबलमा आफ्नो जादु देखाउन बाँकी नै छ । त्यसैले मेस्सीले विश्वकप जितिरहँदा एमबाप्पेले विश्व फुटबल प्रेमीको मन जितेका छन् । 


Author

थप समाचार
x