फुटबल

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

एम्बाप्पेलाई गोल्डेन बुट, मेसीले दोस्रोपटक जिते गोल्डेन बल अवार्ड

इकागज |
पुस ३, २०७९ आइतबार २३:४२ बजे

काठमाडौँ-  दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।  कतारको दोहास्थित लुसेल रङ्गशालामा भएको २२औँ संस्करणको फाइनल खेलमा  फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा जितेको हो  यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । 

अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भए पनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।


खेलको २३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लियोलन मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र फ्रान्सका ओस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसको सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए । 

खेलको ३६औँ मिनेटमा डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । मारियाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । 

खेलको ८०औँ मिनेटमा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए भने त्यसको ८१औँ मिनेटमा एमबाप्पेले  अर्को गोल गर्दै खेल बराबरीमा पुगेको थियो । खेलको निर्धारित समयसम्म दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयमा पुगेको खेलमा अर्जेन्टिनाका लागि १०९औँ मिनेटमा मेस्सीले गोल गरे । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाए पनि रिबाउन्डमा मेस्सीले गोल गर्न सफल भए भने अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।

अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

पेनाल्टी सुटआउटमा गोलरक्षक इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिना उपाधि जित्न सफल भयो । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

उपविजेता बनेको फ्रान्सका लागि केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे भने किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्नबाट चुके । यसअघि फ्रान्स सन् १९९८ र २०१८ मा विजेता बनेको थियो । 

एम्बाप्पेलाई गोल्डेन बुट
 प्रतियोगितामा सबैभन्दा धेरै आठ गोल गरेका फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाए । उनले प्रतियोगिताका सात खेलमा आठ गोल गरेका थिए ।

उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट पाएका हुन् । अर्जेन्टिनाका लियोनल मेस्सीले सात खेलमा सात गोल गरेका थिए । 

साथै  अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । ​मेसीले विश्वकपमा गोल्डेन बल अवार्ड जितेको यो दोस्रोपटक हो । 

अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज उत्कृष्ट गोलरक्षक भए भने ‘योङगेष्ट प्लेयर’  एन्जो फर्नान्डेज भए ।


Author

थप समाचार
x