फुटबल

फिफा विश्वकपः समूह चरणका अन्तिम खेलहरु हुँदै

इकागज |
मंसिर १६, २०७९ शुक्रवार ९:३९ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज ‘जी’ र ‘एच’ समूहका अन्तिम चरणका खेलहरु हुँदैछन् । आजको खेलले दुबै समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ४ टिमको टुंगो लगाउनेछ ।

समूह ‘जी’ अन्तर्गत सर्बियाले स्विटजरल्यान्ड तथा ब्राजिलले क्यामरुनविरुद्ध खेल्दैछ । यी दुबै खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


यस समूहमा ब्राजिलको ६ अंक, स्विटजरल्यान्डको ३ तथा क्यामरुन र सर्बियाको समान १-१ अंक छ ।

यस समूहबाट लगातार दुई खेल जित्दै ब्राजिल अन्तिम नकआउट चरणमा प्रवेश गरिसकेको छ र उसले आजको खेलमा क्यामरुनविरुद्ध जित हात पारे वा बराबरी खेलेपनि समूह विजेता बन्नेछ ।

क्यामरुनले जित हात पारे अघिल्लो चरणमा प्रवेश गर्न ब्राजिललाई हराएर स्विटरल्यान्ड र सर्बियाबीच हुने खेलको नतिजा कुर्नुपर्नेछ ।

अर्कोतर्फ अन्तिम १६ मा प्रवेश गर्न स्विटजरल्यान्डले सर्बियालाई पराजित गर्नुपर्नेछ अन्यथा अर्को खेलको नजितामा भरपर्नेछ । सर्बियाले पनि नकआउटमा प्रवेशका लागि स्विटरल्यान्डलाई पराजित गर्नुका साथै अर्को खेलको नतिजा कुर्नुपर्नेछ ।

समूह ‘एच’ मा भने उरुग्वेले घाना तथा दक्षिण कोरियाले पोर्चुगलको सामना गर्नेछन् । यी दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।

समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने बाँकी एक स्थानका लागि घाना, उरुग्वे र दक्षिण कोरिया भिड्नेछन् ।

यस समूहमा रहेका पोर्चुगलको ६, घानाको ३ तथा दक्षिण कोरिया र उरुग्वेको समान १-१ अंक छ ।

आजको खेलमा पोर्चुगलले दक्षिण कोरियालाई पराजित गरे वा बराबरी खेलेपनि समूह विजेता बन्नेछ । दक्षिण कोरियाले भने नकआउट चरणमा पुग्न पोर्चुगललाई पराजित गर्नुका साथै घाना र उरुग्वेबीच हुने खेलको नतिजा कुर्नुपर्नेछ ।

घानाले भने उरुग्वेलाई पराजित गरे अघिल्लो चरणमा स्थान बनाउनेछ । यदि घानाले बराबरी खेले उसले अर्को खेलको नतिजा कुर्नुपर्नेछ ।

उरुग्वेलाई भने जित हात पार्नुका साथै पोर्चुगल र दक्षिण कोरियाबीचको नतिजा समेत कुर्नुपर्नेछ ।


Author

थप समाचार
x