फुटबल

फिफा विश्वकपः नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

इकागज |
मंसिर १३, २०७९ मंगलबार २२:४४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'ए' बाट नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा प्रवेश गरेका छन् । नेदरल्यान्ड्स समूह विजेता तथा सेनेगल उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले कतारलाई २-० गोलअन्तरले पराजित गर्‍यो । त्यसैगरी, सेनेगलले इक्वेडरलाई २-१ गोलअन्तरले पाखा लगायो ।


नेदरल्यान्ड्सलाई तेस्रो जित दिलाउन कोडी गाक्पो र फ्रेन्की डी जोङले एक-एक गोल गरे । कोडीले २६ औँ तथा फ्रेन्कीले ४९ औँ मिनेटमा गोल गरे ।

यता सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कोलीबेलीले एक-एक गोल गरे । सारले ४४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा कालिडोउले ७० औँ मिनेटमा अर्को टिमको दोस्रो गोल गरे । इक्वेडरका लागि एकमात्र गोल मोइसेस कासेडोले ६७ औँ मिनेटमा गरे ।

यससँगै नेदरल्यान्ड्सले समूह चरणका तीनमध्ये २ खेलमा जित तथा १ खेलमा बराबरीसहित ७ अंक जोड्यो । यता २ खेलमा जित तथा एक खेलमा पराजय भोगेको सेनेगलले ६ अंक जोड्यो ।

तीनवटै खेलमा पराजय भोगेको आयोजक कतार तथा एक जित, एक हार र एक बराबरीसहित ४ अंक जोडेको इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् ।


Author

थप समाचार
x