फुटबल

फिफा विश्वकपः स्पेनलाई पराजित गर्नुपर्ने दवावमा जर्मनी

इकागज |
मंसिर ११, २०७९ आइतबार १५:१८ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत स्पेन र जर्मनीबीचको बहुप्रतिक्षित खेल आज हुँदैछ । समूह 'ई' मा रहेका स्पेन र जर्मनीबीचको खेल अल बायट स्टेडियममा नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा स्पेनले कोस्टा रिकालाई पराजित गरेको तथा जर्मनीले पहिलो खेलमा जापानसँग हारेका कारण आजको यो खेल निकै महत्वपूर्ण र बहुप्रतिक्षित हुने निश्चित छ ।


सन् २०१० को उपाधि विजेता स्पेनले पहिलो खेलमा कोस्टा रिकालाई ७-० ले पराजित गरेको थियो र उक्त जितलाई निरन्तरता दिन चाहन्छ । जर्मनीलाई पराजित गरे स्पेन नकआउट चरण नजिक पुग्ने छ ।

यता सन् १९५४, १९७४, १९९० तथा सन् २०१४ को च्याम्पियन जर्मनी भने स्पेनलाई पराजित गर्दै अन्तिम १६ को सम्भावना जीवित राख्न चाहन्छ । जर्मनीले पहिलो खेलमा जापानसँग २-१ को अप्रत्यासित पराजय भोगेको थियो ।

इतिहास हेर्दा स्पेन र जर्मनीले एकअर्काविरुद्ध २५ पटक खेलेका छन् । जसमध्ये स्पेनले ८ तथा जर्मनीले ९ खेल जित्दा ८ खेल बराबरीमा टुंगिएका छन् । स्पेनले जर्मनीविरुद्ध ३१ गोल गर्दा जर्मनीले ३० गोल गरेको छ । उनीहरुबीच विश्वकपमा चार पटक भिडन्त हुँदा जर्मनीले दुई खेल जितेको छ भने स्पेनले एक खेल जितेको छ ।

 


Author

थप समाचार
x