फुटबल

अर्जुनधारालाई दोस्रो नव युवा गोल्डकपको उपाधि

इकागज |
असोज १६, २०७९ आइतवार २१:४ बजे

फाइल फोटो

काठमाडौँ- बडादसैँको अवसरमा अर्जुनधारा नगरपालिकामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जितेको छ । 

अर्जुनधारा खेलमैदानमा आज भएको फाइनल खेलमा उपाधि जितेसँगै अर्जुनधारा स्पोर्टिङ क्लबले रु एक लाख नगदसहित शिल्ड हात पारेको छ । उपविजेता बनेको बिर्तामोड युनाइटेडले रु ५१ हजारमा चित्त बुझाएको छ ।


यही असोज ९ गतेदेखि सुरु भएको गोल्डकपको फाइनल खेलमा  बिर्तामोड युनाइटेडलाई २–० गोलको नतिजाबाट स्तब्ध पार्दै अर्जुनधाराले उपाधि रक्षा गरेको हो ।

आयोजक अर्जुनधाराका लागि विकास खवास र सौरभ लिम्बूले गोल गरे । रोमाञ्चक खेलमा बिर्तामोडले दबाब सिर्जना गरे पनि सुरुआती अग्रता अर्जुनधाराले लिएको थियो । खेलको १२औँ मिनेटमा अर्जुनधाराका विकास खवासले गोल गर्दै अग्रता दिलाए ।

निरन्तर दबाब दिइरहेको बिर्तामोडले केही समय अर्जुनधाराको हाफ ग्राउण्ड नै कब्जा गरे पनि स्कोर गर्न भने सकेन । घरेलु मैदानमा घरेलु समर्थकको पाएको समर्थनले अर्जुनधाराले दोस्रो हाफमा थप गोल गर्न सफल रह्यो ।

खेलको ५५औँ मिनेटमा अर्जुनधाराका सौरभ लिम्बूले गोल गरेका हुन् । उनले वान भर्सेज वानमा बिर्तामोडका गोलरक्षकलाई बिट गर्दै रित्तो पोस्टमा गोल गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच आयोजकका सौरभ लिम्बू घोषित भए । खेलको बेस्ट डिफेन्स एजिस खड्का, बेस्ट मिडफिल्डर रोमन भुजेल, राइजिङ प्लेयर निश्चल बस्नेत घोषित हुँदा सर्वाधिक गोलकर्ता पनि आयोजककै पुजन राई बने । उनले सर्वाधिक ३ गोल गरेका थिए ।

अर्जुनधारा–४ र ७ मा रहेको नव युवा क्लब र अर्जुनधारा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको आज समापन अवसरमा स्थानीय पूर्वखेलाडी र जग्गादातालाई सम्मान गरिएको थियो ।

पूर्व खेलाडीहरु धनबहादुर काफ्ले, खुसबहादुर खड्का र कृष्णबहादुर थापालाई सम्मान गरिएको थियो भने जग्गादाता भीम काफ्लेलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले सम्मान प्रदान गरे । 


Author

थप समाचार
x