फुटबल

खेलाडीलाई बलीमा चढाएर एन्फा चुनाव

सञ्जीव शाह |
जेठ १३, २०७९ शुक्रबार १६:४६ बजे

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा असार ६ हुँदैछ । फुटबल विकास, व्यावसायिकता, पारदर्शिता, फुटबलको आधुनिकीकरण गर्ने जस्ता 'रेडीमेड' नारासहित अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ तथा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले उम्मेदवारी दिएका छन् । उनीहरुसँगै ५४ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिएका छन् ।

उनीहरुले कसका लागि फुटबल विकास, व्यावसायिकता, पारदर्शिता, फुटबलको आधुनिकीकरण गर्ने भन्ने कुरा नै अमुक बनेको छ । किनभने नेपाली राष्ट्रिय फुटबल टिमका राम्रा मानिएका १० खेलाडी अहिले टिममा छैनन्, अर्थात उनीहरु अहिले नेपाली फुटबल टिमले खेल्ने मैत्रीपूर्ण खेल तथा एएफसी एसियन कप छनोट खेल्ने टिममा अटाएका छैनन् ।


उम्मेदवारी दिएका तथा एन्फाको नेतृत्वमा रहेकाहरुलाई नेपाली फुटबलमा देखिएको सबैभन्दा ठूलो तथा नेपाली फुटबलकै भविष्यसँग जोडिएको विषयमा कुनै चिन्ता छैन । नेपाली राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा रहेका १० फुटबल खेलाडीलाई बन्द प्रशिक्षण छाड्न बाध्य पारेको विषयले उनीहरुलाई खासै असर पारेको देखिदैन । किनभने एक महिना भन्दा लामो समय बितिसक्दा पनि एन्फाले यस विषयमा निर्णय गर्न सकेको छैन् । न त यसका लागि प्रभावकारी दवाव नै कसैले दिन सकेका छन् ।

उनीहरु त केवल चुनावमा केन्द्रित बनेका छन् र मतदातालाई आफ्नो पक्षमा पार्न अनेकाैं योजना अघि सारिरहेका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङले पनि चुनाव अघि उक्त विषयमा निर्णय नहुने स्पष्ट पारिसकेका छन् । 

चुनावी गतिविधि जोडतोडका साथ चलिरहँदा एन्फाको निर्णय कुरेर बसेका खेलाडीहरुको विषय भने गौण बनेको छ । एक हिसाबले उनीहरुको विषय चुनावी मुद्दा मात्र बनेको छ तर समाधान हैन।

अर्कोतर्फ मुख्य प्रशिक्षक अलमुताइरीलाई पनि केही फरक नपरेको एन्फाको व्यवहारले स्पष्ट पारेको छ । हुन त उनी एएफसी एसियन कप छनोट पछि नेपाली टिमसँग हुनेछैनन् । तर एन्फाले उनलाई कारवाही गरिएको निर्णय गर्ने हिम्मत देखाउन सकेको छैन् ।  

तर चुनावको नकारात्मक असर भने बन्द प्रशिक्षण छाड्न बाध्य भएका रोहित चन्द, विमल घर्तीमगर, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, अन्जन विष्ट र सुजल श्रेष्ठमाथि परेको छ । त्यतिमात्र नभएर उनीहरुलाई साथ दिने खेलाडीहरुमाथि पनि परेको छ । 

किनभने सो विवाद छानविनका लागि गठित कार्यदलले प्रशिक्षकलाई एएफसी एसियन कप छनोटपछि हटाउनुपर्ने सुझाव दियो भने खेलाडीहरुलाई पनि कारवाही स्वरुप एएफसी छनोटका लागि टिममा नराख्न तथा सचेत गराउन सिफारिस गरेको थियो । 

कार्यदलले जेठ ४ गते नै छानविनसम्बन्धि प्रतिवेदन एन्फालाई बुझाएको भएपनि त्यसले दिएका सुझाव तथा कारवाहीका लागि गरेका सिफारिसबारे एन्फाले अहिलेसम्म निर्णय गर्न सकेको छैन र यसका लागि एन्फाकै पदाधिकारी तथा उम्मेदवार बनेकाहरु कसैले नेतृत्वलाई बाध्य पनि पार्न सकेको छैन् । किनभने एन्फालाई चुनाव लागेको छ । 

तर खेलाडीहरु भने एन्फा निर्णयको प्रतिक्षामा रहेका छन् आफ्नो भविष्य के होला भन्ने विषयमा जान्न आतुर छन् । 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x